logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रसूति व्यथाले गम्भीर बनेकी महिलाकाे हेलिकोप्टरबाट उद्धार


अंकुरण खबर
780
Shares

प्रसूति व्यथाका कारण गम्भीर बनेकी खोटाङकी एक महिलालाई हेलिकोप्टर मार्फत उद्धार गरिएकाे छ ।

खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी १८ वर्षीया मेनुका बिष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी बिहीबार हेलिकोप्टर मार्फत उद्धार गरेर सुविधायुक्त अस्पताल लगिएको हो ।

प्रसूति व्यथा लागे पछि बुधबार राति स्वास्थ्य चौकी सावाकटहरेमा भर्ना भएकी विष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई सेवाबाट प्रसूतिगृह थापाथली पठाइएको हो । स्वास्थ्यमा जटिलता उत्पन्न भएकाले तत्काल सुविधा सम्पन्न अस्पताल लैजानु पर्ने चिकित्ककाे सुझाबअनुसार जिल्ला अस्पतालको सिफारिसमा प्रशासन कार्यालय मार्फत हेलिकोप्टर झिकाएर उद्धार गरेको स्वास्थ्य चौकी सावाकटहरेका प्रमुख अहेव रामकुमार मग्रातीले बताए ।

जिल्ला अस्पतालको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर व्यवस्था गर्न सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो । प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइले प्रसव वेदनाले छट्पटाइ रहेकी गर्भवतीको उद्धारमा हेलिकोप्टर पठाएको हो ।