logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

मानव अधिकार रक्षाका लागि : सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नु उप–राष्ट्रपति नन्दबहादुर पुन


अंकुरण खबर
2.275K
Shares

उप–राष्ट्रपति नन्दबहादुर पुनले मानवअधिकार रक्षाका लागि हरेकले आ–आफ्नो भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका छन् ।

मानवअधिकारका लागि महाभेला आयोजक समितिद्वारा राजधानीमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले शान्ति प्रक्रिया टुङ्ग्याउने प्रक्रियाका लागि विश्वको ध्यान नेपाल तर्फ आकर्षित भइरहेको बताउँदै मानवअधिकारको रक्षा प्रक्रियामा सबैको ध्यानाकर्षण गराए ।

७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजित महाभेलामा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दीगो विकास शान्तिले पनि कसैलाई पछि नपारौं भन्ने लक्ष्य लिएको बताउदै मानवअधिकारको सवालमा कुनै क्षेत्र, वर्ग समुदाय छुट्न नहुने कुरामा जोड दिए ।

मानवअधिकारवादी नेता दमननाथ ढुङ्गानाले नेपालीले लोकतन्त्र ल्याउन दिएको बलिदानको अर्थपूर्ण बलिदान भए मात्र मानव अधिकारको दृष्टिकोणले राम्रो हुने बताए भने मानव अधिकारकर्मी चरण प्रसाईले नेपालमा शान्ति प्रक्रिया नटुङ्गिएको भन्दै बेपत्ता भएका व्यक्ति बेपत्ता नै छन, कतिपयले जीउमा छर्रा बोकेर हिडेका छन् भने शान्ति प्रक्रिया भएको १५ वर्षसम्म पनि सङ्क्रमणकालिन न्यायको प्रत्याभूति नभएकोले शान्ति प्रक्रिया नटुङ्गिएको ठोकुवा गरे ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार महाभेलाका संयोजक रोशना खड्काले मानव अधिकार रक्षा मैत्री समाजको परिकल्पनाका लागि ऐक्यवद्धता र प्रतिवद्धता जनाएका थिए ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले नेपालमा यत्तिबेला मानव अधिकारको अवस्था ज्यादै दयनिय रहेको बताउँदै यसको रक्षा नगरी लोकतन्त्र सुदृढीकरण र त्यसको सम्वद्र्धन नहुने बताए । कार्यक्रममा मानव अधिकार महाभेला राष्ट्रिय कदरपत्रद्वारा मानवअधिकार रक्षक अधिवक्ता कृष्णप्रसाद भण्डारी र मानव अधिकार राष्ट्रिय महाभेला कदर सम्मान–२०७७ भद्रमान घलेलाई सम्मान गरिएको थियो ।

यसै अवसरमा पद्मरत्न तुलाधर राष्ट्रिय मानव अधिकार तथा शान्ति पुरस्कार २०७८ बाट डा. रेणु अधिकारी र सोही पुरस्कार २०७७ दमननाथ ढुङ्गाना, शान्तिलक्ष्मी महिला मानव अधिकार पुरस्कार २०७८ बाट मुस्कान खातुन र सोही पुरस्कार २०७७ सपना रोकामगरलाई पुरस्कृत गरियो ।