शर्मिला विश्वकर्मा
जहाँ समानता,सक्षमता र सवलीकरण हुन्छ त्यहाँ जुन सुकै प्रकारको हिंसा हुने संभावना न्यून रहन्छ । तर आजको २१ औं शताब्धीको युगमा पनि यस्तो परिबेश बिरलै मात्र भेटिन्छ । चाहे बिकसित देश होस् चाहे बिकासोन्मुख या अल्पविकसित । विभिन्न बाहानामा महिलानै सबै भन्दा धेरै हिंसाको शिकार हुन बाध्य छन् ।
महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न विश्वव्यापी रुपमानै प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिकसम्म १६ दिने अभियाननै सञ्चालन गरिदै आएको छ । यो वर्षको हिंसा बिरुद्धको १६ दिने अभियान आज सकिदै छ । अन्तर्रारिष्ट्रय स्तरमा जस्तै नेपालमा पनि यो वर्ष “घरैदेखि शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ विविध कार्यक्रम गरि मनाइएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा यो अभियान सञ्चालन गरेको धेरै पछि नेपालमा वि.स.२०५४ सालदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु गरिएको हो । त्यो समय देखि राज्य स्तर, मानव अधिकारकर्मीहरु, मानव अधिकारकर्मी, महिला अधिकारकमीस्हरुले महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । वि.स.२०७५ सालदेखि नेपाल सरकारको मन्त्री परिषदले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित स्थानीय सरकारद्धारा देशै भरी मनाउदै आएको छ ।
बढ्दो जनचेतना, शिक्षा, नयाँ नयाँ प्रविधिका कारण जागरण भएको अधिकार र कर्तव्य प्रतिको बुझाई लगाएतका कुराले प्रत्यक्ष हिंसामा केही कमि आए पनि अझै विविध प्रकारका हिंसाले नेपालमा वर्षीनै धेरै महिलाको ज्यान जाने गरेको छ । हाम्रो जस्तो मुलुकमा महिला माथि शारिरीक, मानसिक, सामाजिक,आर्थिक तवरले गरिने दुर्वयवहार, याताना, कुटपीट, गाली गलौज, अपशब्द प्रयोग, शोषण लगाएतका कारण धेरै महिला हिंसाको सिकार भएका छन् ।पछिल्लो चरणमा बलात्कारका घटनाहरु पनि दिनानुदिन बढदै गएका छन् ।
“ अधिकांश को बुझाई छ महिना हिंसा ग्रामीण भू-भागमा मात्र हुन्छ । तर हिंसाका घटना शहरी भेगमा पनि धेरै हुने गरेको छ । अझै पनि अधिकांश महिलाहरुले आफु माथि भएका हिंसाहरुको विषयमा आवाज उठाउन डराउने गरेको हिंसाको बारे बोले उल्टै अझ पीडित हुनुपर्ने अवस्था रहेकाले बाहिर ल्याउने नगरेको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन् । चाहे जुन सुकै समुदाय या भुगोलमा होस्, महिला माथि हुने हिंसा रोक्न स्वयम महिलाको शाहास र घरपरिवार समाजको सहयोग आवश्यक रहेको अध्यक्ष पराजुलीको बुझाई छ । ”
विभिन्न औपचारिक तथा अनौपचारिक रुपमा प्रत्येक वर्ष यो दिवस मनाए पनि सार्थक परिणाममा भने सधै प्रश्न चिन्ह खडा हुने गरेको छ । राष्ट्रिय महिला आयोगका अनुसार बन्दाबन्दीको सुरुवाती अगाडि २ महिनामा वि.स.२०७६ मंसिर देखि २०७७ चैत्र सम्म हिंसाका घटना ह्वातै बढेका छन् । आयोगमा अहिले पनि दैनिक (२४ घण्टा) ३०० को हाराहारीमा गुनासो र ८०,९० वटा जति हिंसाका उरुरी पर्ने गरेको छ । त्यसै ओरेक नेपालका अनुसार यस वर्षको अहिलेसम्म कूल १ हजार ०४२ जना महिलाहरुमा विभिन्न हिंसा भएको तथ्याङ्क छ ।
नेपाल प्रहरीमा आर्थिक वर्ष २०७७/७८ मा आएका उजुरी मध्ये सबैभन्दा धेरै घरेलु हिंसा कै रहेको छ । आ.ब.२०७७/ ७८ मा १४ हजार २ सय ३२ वटा उजुरी प्रहरीमा आएका छन् । तर पनि घरभित्र भएका धेरैजसो हिंसाका घटना अझैपनि प्रहरीकहाँ पुग्न सकेका छैनन् । हिंसाको चरम अवस्थामा पुगेपछिमात्र पीडित प्रहरीकहाँ पुग्ने गरेको पाइन्छ । यसले महिलाहरु घरभित्रै असुरक्षित रहेको कुरा पुष्टि गर्दछ ।
हाम्रो धर्म, संस्कृति,रीतिरिवाजले पनि कत्तिपय ठाँउमा महिला हिंसा हुने गरेको छ । यसको अन्त्यको लागि जनचेतना फैलाउँदै महिलालाई दक्ष र सक्षम बनाउन सबै लागे हिंसाका घटनामा न्युनिकरण गर्न सकिन्छ ।
हिंसा बिरुद्धको १६ दिने अभियानको मूख्य द्येय पनि विश्वबाटै महिला हिंसा अत्य गर्नु हो । यसका लागि समाजमा जनचेतना जगाउनु प्रमुख कार्य हो। कुनै पनि अभियान या दिवसहरु देखाउन र मनाउनका लागि मात्रै नभएर पीडितलाई न्याय दिलाउन र सदाका लागि हिंसा अन्त्य गर्न लक्षित वर्गमै पुगि सञ्चालन गरे मात्र अभियानको सार्थकता रहन्छ ।