नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दल र तिनका नेताहरुलाई बद्नाम गराएर निरकुंश निम्त्याउन खोजिने गरेको बताएका छन् ।
काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले अहिले पनि दल र तिनका नेताहरुलाई बद्नाम गराउन खोजेको बताए ।
आन्दोलन र सडकमा रहँदा जनतामाझ गरिएको वाचा पूरा गर्न सत्तामा पुगेका बेला बिर्सिने राजनीतिक परिपाटीको समीक्षा गर्नुपर्ने बताएका उनले सरकार र दल भ्रष्टाचार नियन्त्रण गरेर जनताको चाहना र प्रतिबद्धता पूरा गर्न किन सकिएन भनेर समीक्षा गर्नुपर्ने बताए ।
सत्तामा पुगेपछि नेताहरुमा दम्भ बढेर आउने भएकाले काम गर्न नसकेको आफैँले अनुभव गरेको बताएका प्रचण्डले गत वर्षदेखि गणतन्त्र र राजनीतिक उपलब्धीमाथि खतरा बढेर गएको देखेको बताए ।
शान्ति वार्ता गर्ने पहिलो व्यक्ति शेरबहादुर देउवा रहेका भन्दै उनले शान्ति प्रक्रियालाई विभिन्न चुनौती पार गरेर पूरा गरेको बताए ।
उनले नेपालमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको बताएका छन् ।
भारतीय जनता पार्टीका नेता हर्षबद्र्धनले नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएको भन्दै खुसी लागेको बताएका थिए ।
त्यसकै जवाफ दिने क्रममा प्रचण्डले नोपलमा एकले अर्कोलाई प्रधानमन्त्री बनाउने अनौठो संस्कृति रहेको जवाफ दिएका हुन् ।