उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन थालेसँगै देशभर चिसो बढ्दै गएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन भएको छ। शुक्रबार यो भन्दा कम तापक्रम रहेको थियो।
देशका अन्य स्थानको तापक्रम भने घट्दै गएको महाशाखाले जनाएको छ। जुम्लाको तापक्रम माइनस ४.३ डिग्री सेल्सियसमा झरेको छ। यस्तै जिरीको तापक्रम १.१ डिग्री सेल्सियस मापन भएको छ।
आज र भोलि मौसम सफा रहने महाशाखाले जनाएको छ। जसले गर्दा तापक्रम अझै घट्ने महाशाखाको अनुमान छ।
आज बिहान देशका अधिकांश पहाडी भेगमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो विस्तारै खुल्दै जाने महाशाखाले जनाएको छ।