logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सप्तरीमा मलको अभाव, सदरमुकाम पुग्ने किसान रित्तो हात फर्कंदै


अंकुरण खबर
858
Shares

मल लिनका लागि ग्रामीण भेगका किसानहरू सदरमुकाम राजविराजसम्म दिनहुँ धाउँदासमेत नपाएर रित्तै हात फर्कन बाध्य भइरहेका छन् । गहुँ खेतीको समयमा मागअनुसार सप्तरीमा मल नपाउँदा किसान मर्कामा परेका छन् ।

खेत तयारी अवस्थामा राखेर मलको पर्खाइमा बस्नुपर्ने बाध्यता छ ।  मल नपाउँदा अझै गहुँ छर्न नसकेको राजगढ गाउँपालिका–७ का श्यामप्रित मण्डलले बताए ।

‘गाउँका डिलरहरूमा मल नपाएकाले  तीन दिनदेखि कृषि सामग्री केन्द्र राजविराजमा आउँदासमेत रित्तो हात फर्किंदै आउनुपरेको बाध्यता छ’, उनले भने ।

राजविराज–१३  बिसहियाका रामकिशुन यादवले भने, ‘पहुँचवालाहरूले गाउँकै डिलरबाट प्रयाप्त मल उपलब्ध भए पनि निमुखाहरूले मलका लागि भौतारिनु पर्ने  बाध्यता छ । मलका लागि चार दिनदेखि कृषि सामग्री कम्पनी राजविराज आउँदासमेत मल उपलब्ध हुन सकेको छैन ।’

नौ लाख नौ हजार ५९९ हेक्टर क्षेत्रफल रहे पनि सप्तरीमा पनि खेतीयोग्य जग्गा ८१ हजार ६६८ हेक्टर अर्थात ६४ प्रतिशत रहेको कृषि ज्ञानकेन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले बताए ।

गहुँ खेतीको समयमा बढी मात्रामा डीएपी, युरिया र पोटास मल खपत हुने गरेको किसानहरूले जनाएका छन् ।