logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्रिकेट: हालसम्म सन्दीप लामिछाने बाहेक कोही परेका छैनन् पीएसएलमा


अंकुरण खबर
637
Shares

पाकिस्तान सुपर लीग (पीएसएल) को आगामी वर्ष २०२२ को खेलाडी छनोट गर्ने ड्राफ्ट भोलि आइतवार हुँदा त्यसमा नेपाली क्रिकेट प्रेमीहरूको ध्यान केन्द्रित हुनेछ।

किनकि पाकिस्तानको लाहोरमा हुने सो ड्राफ्टमा ११ जना नेपाली क्रिकेटरहरूको नाम समावेश छ।

सन्दीप लामिछाने, शरद भेसावकर, वसन्त रेग्मी, विनोद भण्डारी, सुवास खकुरेल, सोमपाल कामी, सुशन भारी, शाहब आलम, ललित राजवंशी, पवन सर्राफ र विक्रम सोबको नाम ड्राफ्टमा छ।

पीएसएलको सातौँ संस्करण २०२२ को जनवरी २७ तारिखदेखि फेब्रुअरी २७ तारिख एक महिनासम्म आयोजना हुँदैछ।

जसमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर कलन्दर्स, मुल्तान सुल्तान्स, पेशावर जाल्मी र क्वेटा ग्ल्याडीएटर्स गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता लाहोर र कराँची शहरमा हुनेछ।

कसको मूल्य कति?

प्रतियोगिताको ड्राफ्टमा पाकिस्तानका ४९५ खेलाडी र विदेशबाट ४४३ खेलाडीले नाम दर्ता गराएका छन्।

जसमा एसोसियट राष्ट्रबाट नेपाल सहित हङकङ, क्यानडा, ओमान, युएई, स्कटल्याण्ड, केन्या र नामिबिया जस्ता देशका खेलाडीहरू पनि छन्।

खेलाडीहरूलाई श्रेणी अनुसारको मूल्य तोकिएको छ।

उनीहरूलाई माथिल्लोबाट तल्लो तह क्रमशः प्लाटिनम, डायमण्ड, गोल्ड र इमर्जिङ गरी चार श्रेणीमा राखिएको छ।

इमर्जिङ श्रेणी पाकिस्तानी खेलाडीहरूका लागि हो।

नेपालबाट सन्दीप लामिछानेले प्लाटिनम श्रेणी भित्रको गोल्ड श्रेणीमा नाम लेखाएका छन्।

हरेक श्रेणी भित्र पनि प्लाटिनम, डायमन्ड र गोल्ड गरी तीन वटा श्रेणी राखिएको छ।

सन्दीप छानिए भने उनले कम्तीमा डेढ करोड रुपैयाँ पाउने बताइएको छ।

सन्दीपपछि विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले गोल्ड श्रेणी भित्रको सिल्भर श्रेणीमा दर्ता गराएका छन्। यो श्रेणीमा रहेको खेलाडीको मूल्य करिब ४८ लाख रुपैयाँ छ।

बाँकी ९ जना खेलाडीहरूले सिल्भर श्रेणीमा दर्ता गराएका छन्। जसको पारिश्रमिक १७ लाख देखि २७ लाख रुपैँया सम्म हुनेछ।

सम्भावना कति छ?

नेपाली खेलाडीहरूले विगत ३ संस्करणदेखि पीएसएलको ड्राफ्टमा प्रतिस्पर्धा गरिरहेका छन्। तर सन्दीप लामिछाने बाहेक अन्य खेलाडीलाई टिमले पत्याएको अवस्था छैन।

उनले सन् २०१९ को सिजनमा प्रभावशाली प्रदर्शन गरेका थिए। तर त्यसपछिको सिजनमा उनी पनि बिकेका छैनन्।

गत वर्ष प्रतियोगिताकै बीचमा उनलाई अफगानिस्तानका रसिद खानको स्थानमा खेल्न बोलाइएको पनि थियो। तर त्यही बेला कोरोना भाइरस सङ्क्रमण बढेपछि उनले एक बल नफ्याँक्दै खेल स्थगित हुन पुगेको थियो।

नेपालबाट सन् २०२१ को ड्राफ्टमा तत्कालीन कप्तान पारस खड्का सहित १० खेलाडी परेका थिए। त्यसमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, कुशल मल्ल, अविनाश बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख परेका थिए। तर कुनै पनि खेलाडीहरू विक्री भएनन्।

२०२२ को ड्राफ्टमा पनि विदेशी खेलाडीहरूबीच तीव्र प्रतिस्पर्धा हुने पक्का छ। किनकि पीएसएलमा सहभागी ६ टोलीले बढीमा १०८ खेलाडी छान्नेछन्।

जसमा एउटा टोलीले १८ खेलाडीको टिम बनाएमा ६ जना विदेशी तथा १६ खेलाडीको टिम बनाएमा ५ जना मात्र विदेशी खेलाडी अनुबन्ध गर्न पाउने व्यवस्था छ।

अर्थात् बढीमा ३६ र कम्तीमा ३० विदेशी मात्र पीएसएलमा अटाउनेछन्। त्यसैले विगतमा जस्तै नेपाली खेलाडीहरू टोलीमा पर्ने सम्भावना कम हुने कतिपयले बताएका छन्।

हालसम्म नेपाली खेलाडीहरूमा सन्दीप लामिछानेले विश्वका प्राय: सबै फ्रेञ्चाइज खेलेका छन्। उनी बाहेक पारस खड्का, करण केसी, सोमपाल कामी र कुशल मल्लले एक सिजन अबुधाबी टी १० लिग खेलेका छन्।

बीबीसीको सहयोगमा