नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको समूहबाट ‘आउट’ भएका छन् ।
देउवाले आफ्नो समूहबाट महामन्त्रीको उम्मेदवार नबनाए पनि शर्माले महामन्त्रीमै उम्मेदवारी दिने बताएका छन् । शर्माले आफू संस्थापनपक्षको टिममा नपरेको स्वीकार गरेका छन् । तर, आफ्नो उम्मेदवारी महामन्त्रीमा हुने उनले बताए ।
शर्माले भने, ‘शेरबहादुर दाइको टिममा परिन, तर म महामन्त्रीमा लड्छु छैन् ।’
उनले टिमका बारेमा अझै निर्णय नभएको बताएका छन् । यसै विषयमा अहिले देउवा समूहबाट महामन्त्री नपाएपछि शर्मा आफू निकटहरूसँग छलफलमा जुटेका छन् ।
महामन्त्रीमा दाबी गर्दै आएका शर्माले संस्थापन टिमबाट टिकट नपाउने भएपछि शेखर कोइरालाको टिमबाट चुनाव लड्ने की प्रकाशमान सिंहको टिमबाट चुनाव लड्ने भन्ने विषयमा आफू निकट नेताहरूसँग छलफल गरिरहेको बताइएको छ।
उनले देउवा टिमबाट टिकट नपाएमा शेखर कोइराला समूहबाट महामन्त्रीमा लड्ने सम्भावना रहेको बताइएको छ। शेखर समूहबाट गगन थापा र शर्मालाई महामन्त्रीमा अगाडि सार्ने विषयमा छलफल भइरहेको बताइएको छ।
देउवाले भने महामन्त्रीमा डा. प्रकाशशरण महतलाई अघि सार्ने तयारी गरेका छन्। दुई जना महामन्त्री मध्ये एक महामन्त्री कृष्णप्रसाद सिटौलाले माग गरेसँगै देउवाले आफ्नो समूहबाट महतलाई महामन्त्रीको रुपमा अगाडि सार्न खोजेका हुन्।