दाङमा विद्युतीय कारको विक्री वितरण सुरु भएको छ । पेट्रोलियम पदार्थको मूल्य आकासिँदै गएको बेलामा गाडी चड्ने नागरिकलाई मध्यनजर गर्दै विश्वमा माग बढेको विद्युतीय विवाइडी कम्पनीको कार दाङमा आइपुगेको हो ।
तुलसीपुरमा रहेको टिम इलिभेन ग्रुपले पश्चिम नेपालका लागि आधिकारिक विक्रेताको जिम्मा लिएसँगै नेपालगञ्जमा शोरुम निर्माण गरेर विद्युतीय कारको बिक्री वितरण थालिएको ग्रुपका अध्यक्ष विमल पौडेलले जानकारी दिए । उनले प्रयोगकर्ताहरूले अत्यधिक रुचाएको विवाइडी ब्राण्ड अन्य कार भन्दा सस्तो सुलभ, टिकाउ तथा बलियो, आरामदायी भएको बताए ।
उनले अहिले दाङ, नेपालगञ्जमा बिक्री खुला गरिसकेको र क्रमशः अन्य जिल्लामा पनि बिक्री थालिने बताए । फागुन महिना भित्रमा घोराही, लमही र सल्यानमा नयाँ बिक्री केन्द्र स्थापना गर्न लागेको बताए ।
शनिवार विवाइडी कम्पनीको विद्युतीय कारको दाङबाट बिक्री सुरु गरिएको छ । विभिन्न प्रकृतिको उक्त कारको अहिले पश्चिम नेपालमा मूल्य ४० लाख देखि ६० लाख सम्मको रहेको पौडेलको भनाई छ । गाडी वातावरण मैत्री भएको हुँदा अत्यधिक रुचाइएको उनले बताए ।
विद्युतीय गाडी प्रयोगकर्ता विमल शर्माले चलाउन पनि सहज, खर्च पनि कम र आरामदायी यात्रा हुने बताए । मेघाहर्ज अनुसार चार्ज हुने र एक पटक पुल चार्ज भएमा ४ सय देखि ५ सय २० किलो मिटरसम्मको यात्रा सहज रूपमा गर्न सकिने छ ।
यस भन्दा पहिले इन्धन वाला गाडी चलाएको र लामो अध्ययन गरेर उपयोगी देखे पछि विद्युतीय गाडी किनेको शर्माको भनाई छ । उनले विद्युतीय गाडी अरू भन्दा सस्तो भएको र यसले मासिक रूपमा हुने खर्च समेत कम गराउने गरेको बताए । धेरै राम्रो लाग्गो, उनले भने, चलाउन नि सजिलो, लक्जरीयस रहेछ ।
शनिवारदेखि दाङमा बिक्री सुरु भएको विवाइडी विद्युतीय कार जिल्लामा ४ वटा पुगेका छन् । वितरकहरूले यसको माग बढिरहेको र अडर अनुसार उपलब्ध गराउँदै आएको बताए ।
चार्ज सेन्टरको उद्घाटन
जिल्लामा विद्युतीय कार भित्रिएपछि त्यसका लागि विद्युतीय चार्ज सहज गराउन तुलसीपुरको दोघरेमा चाजिङ सेन्टर स्थापना गरिएको छ । ग्रुपका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा तथा तुलसीपुर नगर जेसिजका अध्यक्ष नेत्रलाल भट्टराई नारायणको प्रमुख आतिथ्ययतामा सेन्टरको शुभारम्भ गरिएको छ ।