logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शिक्षकको हत्या आरोपमा एक जनालाई जन्मकैदको सजाय


अंकुरण खबर
611
Shares

इलामको माई नगरपालिका–१ का शिक्षक पुष्पलाल राईको हत्या अभियोग लागेका सोही ठाउँका पदमबहादुर राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

ज्वाइँ जेठान सम्बन्ध पर्ने ४६ वर्षका पदमबहादुर राईले व्यक्तिगत रिसिबीका कारण जेठान ४६ वर्षीय पुष्पलालको हत्या गरेका थिए ।

मादक पदार्थ सेवन गरेका सम्बन्धले ज्वाइँ पर्ने पदमबहादुरले जेठान पुष्पलालकै घरमा गएर पछाडिबाट घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेर राति अर्कैको घरमा गएर बसेका थिए ।

२९ असोज २०७७ मा अम्लिसे भन्ज्याङ आधारभूत विद्यालय कार्यरत शिक्षक पुष्पलालको घरैमा शव भेटिएको थियो । भोलिपल्ट बिहान मृत भेट्टिएका पुष्पलालको हत्याको अनुसन्धान गर्न प्रहरीले धरानबाट ‘लैला’ नामको कुकुर झिकाएको थियो ।

अनुसन्धानको लागि तालिम प्राप्त कुकुरको संकेतको आधारमा प्रहरीले पदमबहादुरलाई तत्काल पक्राउ गरेको थियो । अनुसन्धान पुरा भएपछि प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा अभियोजन दर्ता गरेको थियो ।

जिल्ला अदालतले अभियोगी राईलाई जन्मकैद सँगै पीडितका नाममा ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन र पीडित राहत कोषमा दुई हजार आठ सय रुपैयाँ समेत जम्मा गर्ने गरी फैसला सुनाइएको जिल्ला अदालत इलामका श्रेस्तेदार फडिन्द्र भट्टराईले जानकारी दिए ।