logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली कांग्रेस महाधिवेशन: शेरबहादुर देउवा शीर्ष स्थानमा रहे पनि जितका लागि आवश्यक मत पाएनन्


अंकुरण खबर
2.132K
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको निर्वाचनका लागि दोस्रो चरणको मतदान हुने भएको छ।

दोस्रो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ। पाँच उम्मेदवारामध्ये देउवा पहिलो स्थानमा रहे पनि निर्वाचित हुन आवश्यक ५० प्रतिशतभन्दा बढी मत कटाउन सकेनन्।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बीबीसीसँग भने: “निर्वाचन दोस्रो चरणमा गयो। अब निर्वाचन समितिको बैठक बसेर दोस्रो चरण कहिले गर्ने निर्णय गर्छौँ।”

मङ्गलवार बिहान ४ बजेबाट सुरु भएको मतगणनाको नतिजा अनुसार पाँच जना उम्मेदवारमध्ये सबैभन्दा धेरै मत प्राप्त गरेका देउवा र कोइराला पुनः चुनावी मैदानमा उत्रिनुपर्ने भएको हो।

प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ भने यो दौडबाट बाहिरिएका छन्।

तर शीर्ष दुई स्थानमा रहेका उम्मेदवारबीच अब हुने प्रतिस्पर्धामा बाँकी तीन नेतालाई समर्थन गर्ने मतदाताहरू निर्णायक हुने बुझाइ धेरैको छ।

कांग्रेसको विधानअनुसार पहिलो चरणबाटै सभापतिको परिणाम आउन सभापतिका उम्मेदवारमध्ये कुनै एक जनाले ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ।

रोचक

धेरै उम्मेदवारबीच मत बाँडिदा पहिलो चरणमा कसैले पनि त्यति मत प्राप्त गर्न नसकेको देखिन्छ।

मतगणना स्थलमा रहेका बीबीसी संवाददाता नेत्र केसीले पहिलो चरणमा सभापतिका उम्मेदवारले पाएको मतले दोस्रो चरणका लागि केही सङ्केतहरू भने छाड्ने बताउँछन्।

“शीर्ष दुई बाहेकका उम्मेदवारले कसको पक्ष लिन्छन् र पहिलो चरणका आधारमा केही मतदाताले मन फेर्न सक्ने सम्भावनाले समेत दोस्रो चरणको नतिजा निक्यौल गर्नसक्छ।”

महाधिवेशन प्रतिनिधिहरू काठमाण्डूबाट फर्कनुअघि नै सभापति चयनको टुङ्गो लगाइसक्न महाधिवेशनका लागि गठित निर्वाचन समितिले मतदान सकिनासाथ अन्य पदको गणना थाती राख्दै सभापति पदको मतगणना सुरु गरेको थियो।

निर्वाचन समितिका अनुसार दोस्रो चरणको मतदान मङ्गलवार नै सम्पन्न गर्ने तयारी गरिएको छ।

सभापति पदबाहेकका उम्मेदवारले भने ५० प्रतिशत बढी ल्याउनुपर्ने बाध्यता छैन।

बाँकी पदमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार निर्वाचित हुने व्यवस्था छ।

१४औँ महाधिवेशन: कसरी चुनिँदैछ नेतृत्व?

नेपालमा सङ्घीय व्यवस्था कार्यान्वयन भएपछि पहिलोपटक नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४ मङ्सीरबाट सुरु भएको हो।

क्रियाशील सदस्यमा यसपटक नविकरण गर्नेभन्दा केही प्रतिसतले नयाँ धेरै आएकाले त्यसको प्रभाव नेतृत्व चयन कसरी पर्छ भन्ने चासोपूर्वक हेरिएको छ।

यस महाधिवेशनमा पहिलोपटक सबै पदाधिकारीहरू निर्वाचित भएर चयन हुँदैछन्।

केन्द्रीय समितिको १३४ पदमा निर्वाचन हुनेमा २ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

१४ पदाधिकारीमा सभापतिबाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ कोषाध्यक्ष चयन हुँदैछन्।

कोषाध्यक्ष भने केन्द्रीय सदस्यमध्येबाट एकजनालाई सभापतिले सिफारिस गर्ने अनि केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था छ।

खुलातर्फ ३५ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ भने बाँकी प्रादेशिक प्रतिनिधित्व एवं समावेशी प्रतिनिधित्व हुनेगरी चयन गरिँदैछ।

कुल १६७ सदस्यीय केन्द्रीय समितिमध्ये २० प्रतिशत अर्थात् ३३ वटा पदमा सभापतिले मनोनित गर्न पाउँछन्।

बीबीसी