नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला वासिङ्टनमा एमसिसी बोर्ड बैठक बस्ने भएको छ ।
नेपाली समयअनुसार बुधबार बिहान वासिङ्टनमा बस्ने एमसिसी बोर्ड बैठकमा नेपालको विषयमा छलफल हुनेछ । नेपालमा एमसिसी कार्यान्वयनमा ढिलाइ भइरहँदा अमेरिकाले यसबारे उच्च चासो देखाएको छ। अमेरिकी अधिकारीले काठमाडौं आएर एमसिसीलाई कार्यान्वयनमा लैजान दलका नेता र सरकारलाई आग्रह गरिसकेका छन् ।
पछिल्लोपटक दक्षिण तथा मध्य एसियासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेर एमसिसी कार्यान्वयनका लागि उच्च राजनीतिक नेतृत्वसँग आग्रह गरेका थिए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्ता गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर नेपालले एमसिसी तत्काल कार्यान्वनयमा नलगे यो परियोजना फिर्ता लैजाने बताएका थिए ।