शर्मिला विश्वकर्मा
काठमाडौंका अधिकांश सडकहरु यात्रुहरुका लागि गन्तव्य स्थल मात्र नभएर धेरै व्यक्तिहरुका लागि जीवन यापनको माध्यम बनेका छन् । देशका कुना काप्चाबाट राजधानीमा भविष्य खोज्न आएका मानिसहरुले यो सडक पेटीमा व्यपार व्यवसाय गरेर दैनिकी गुजार्दै छन् । निम्न वर्गीय व्यक्तिका लागि जीविको पार्जन गर्ने व्यवसायिक केन्द्र बनेका सडकहरु मध्ये काठमाडौंको कोटेश्वर सडक पेटी पनि प्रमुख हो । जब बिहानको मिर्मिरे छिचोल्दै उज्यालो चिहाँउछ तब नै आफ्नो रोजी रोटीका लागि सडक व्यावसायीको दौडधुप सुरु हुन्छ । यसरी दौडधुप गर्ने मध्येकी एक प्रतिनिधि पात्र हुन् बझाङ जिल्ला छविस पाथीभरा गाँउपालिका वडा नं ४ स्थाई घर भएकी ३९ वर्षिया हिमालय देवी सिंह ।
बाध्यताले सडक व्यावसाय रोजे :
अधिकांश मानिसको बुझाई छ की सडक व्यावसाय अशिक्षित व्यक्तिले गर्छन् । तर हिमालयदेवी सिंह भने शिक्षित नारी हुन । आइ ए सम्मको औपचारिक शिक्षा प्राप्त गरेकी हिमालय देवीले सुरुमा अन्यत्र जागिर खाना नखोजेकी पनि हैनन् । तर आफुले खोजेजस्तो जागिर नपाए पछि उनले सडकमा नांले पसल सञ्चालन गरिन् । उनले यही सडक पेटीको छोउमा दिनभरी धुलो, धुवाँ खादै चुरोट, माक्स, सुर्ती, औठी, विरेनुन लगाएतका सामाग्रीहरु बेच्न थालेको दुई महिना भयो । यही सानो व्यावसायले नै अहिले हिमालय देवीलाई यो शहरमा टिकाइरहेको छ । दुई सन्तानको लालन पालन, शिक्षा स्वास्थ्यदेखि सबै कुराको गुजारा चलेको छ ।

हिमालय देवी सिंह
हेय भावले हेरिदो रहेको छ :
श्रीमान गाउँमै घर सम्मालेर बसेपछि छोरा छोरीको उज्वल भविष्यको लागि आफु केही गरेर खान्छु भन्दा पनि यो निष्ठुरी शहरमा निकै गाह्रो भएको उनको भोगाई छ । यही पेशाबाटै दैनिक ३/४ सय कमाई हुन्छ उनको । आफ्नो दुखेसो हिमालयदेवीले यसरी पोखिन् “तिमीलाई श्रीमानले छोडेको हो ? त्यही भएर सडकमा बसेर सामान बेच्ने गरेकी हौ ? भन्दै जिस्काउने धेरै आउछन् । यसो भन्दा मन सारै दुख्छ ”। यद्यपी यस्ता कुनै कुराको प्रवाह नगर्ने आफुले लगनशिल भएर काम गरे सफलता मिल्ने हिमालय देवीको बुझाई छ ।
यस्तै, सडकबाटै जिन्दगी धान्ने अर्का पात्र हुन्, काभ्रेपलाञ्चोक जिल्लाका नारायण ढुङ्गाना । ढुंगानाले सडक आफ्नो जीविको पार्जनको माध्यम बन्छ भनेर कहिलै नसोचेको बताउँछन् । छोरो बचाउँदा सडकमा आए जीवन भनेकै समयको चक्र न हो कहिले दुखः कहिले सुख। आज भन्दा करिब १० वर्ष अगाडि छोरालाई निमोनिया भएर लामो समय अस्पताल राख्दा घर खेत नै बेच्नु परेकाले अहिले सडकको बास भएको ढुंगानाको दुखेको छ । ढुंगानाका अहिले २ जना सन्तान छन् । २ जना सन्तानको उज्जल भविश्य बुन्दै दिनभरी कोटेश्वर चोकमा आवात जावत गर्ने यातायातका साधनहरुमा सामानहरु बेच्न थालेको ७ वर्ष भयो ।

नारायण ढुङ्गाना
कोटेश्वर चोक हुदै आफ्नो गन्तव्य तर्फ लाग्ने यातायातका साधानहरुमा जोखिम मोलेरै ढुंगानाले आफ्नो हात मुख जोड्ने यावसाय गर्दै आएका छन् । आफ्नो गन्तव्यमा पुग्न चोकमा रोकेर राखेका गाडी र गुडिरहेका गाडीहरुमा जोखिम मोल्दै पानी, तितौरा, चना, बदाम आदि बेच्नु ढुंगानाको दैनिकी हो । यही पेशाबाट महिनामा करिब १५/२० हजार कमाई हुन्छ उनको । उनी भन्छन् ” यसरी समान बेच्नु धेरै नै चुनौतिको काम हो । गाडी भित्र रहदा या झ्याल ढोकाबाट सामान बेच्दा बेच्दै ट्राफिक पुलिसले लखट्यो या गाडी गुड्यो भने ज्यान धेरै नै खतरा हुन्छ । तर के गर्नु बाच्नको लागि पनि काम गर्ने प¥यो ।”
सडकमा सामान बेच्दा अधिकांशले हेला गर्छन् :
गाँउ भन्दा पनि शहरमा विशेष गरी काठमाडौं शहरमा पढाई राम्रो हुन्छ र छोराछोरीको भविश्य उज्जल पार्ने सपना बोकेर दोलखा जिल्लाको काञ्चिोक गाँउपालिका वडा नं ६ की २४ वर्षिया बविता थामीले कोटेश्वरको आकाशे पुलमा खुद्रा व्यवपार गर्ने गरेको १ वर्ष भयो । उनका श्रीमान श्रीमती दुबै जना यही व्यवसाय गर्दै आएका छन् । आकाशे पुलमा उनले दैनिक रुपमा प्रयोग हुने माक्स, पेटी, पर्स लगायतका सामान बेच्ने गर्छन् । धेरै जसो नगरपालिकाले आएर सामान फालिदिने, उठाएर लैजाने गर्दा सारै दुःख झेल्न परेको बताउछिन । यो व्यापारबाट दिनमा बढीमा १ हजार देखि १२ सय सम्म र कम्तिमा ५/६ सय सम्मको व्यापार हुन्छ । तर यसरी सडकमा बसेर सामान बेच्दा अधिकांशले हेला गर्ने गरेको गुनासो पनि सुनाउछिन उनी। यही व्यवसायबाट २ जना छोराछोरीलाई विद्यालयमा पढाउनुका साथै मासिक रुपमा ४५ सय रुपैया कोठाभाडा तिर्ने गरेकी छिन् । भनेको जस्तो काम नपाउदा सडकमै धुलो धुवा खाएर पनि यही व्यवसायमा सन्तुष्ट हुन बाध्य छिन् बबिता ।

बविता थामी
साग बेचेर मासिक १० देखि १२ हजार सम्मको आम्दानी :
यस्तै, सडक पेटीमा व्यपार व्यवसाय गरेर दैनिकी गुजार्दै आएकी अर्की पात्र हुन् दोलखा जिल्लाकै ४५ बर्षिया मैना खड्का काठमाडौं बसेको ३० वर्ष भयो । छोराछोरीलाई राम्रो शिक्षा दिन मैनाको दम्पति काठमाडौं आएपछि पहिला ज्यामी काम गर्दै आएको र विगत ४ वर्ष देखि कोटेश्वर चोकमा साग बेच्न थालेकी छिन् । सडकमा बसेर सागको व्यवापार गर्दा ग्राहकहरुको चित्त बुझाउन नसकिने, सस्तोमा खोज्ने, धुलो धुवा खाएर बेच्नु पर्दा निकै दुःख हुने गरेको बताउछिन् । तर पनि आफुले दुःख गेरे यो व्यवसाय गर्दा महिनामा करिब १० देखि १२ हजार सम्मको आम्दानी हुने गरेकोले आफु यही पेशा प्रति खुशी र सन्तुष्ट छिन् ।

मैना खड्का
सडक व्यपारीका चुनौतिहरु :
यसरी सडकमा सामान बेच्दाखेरि गाडीमा चढ्दा ट्राफिकले गाडी लखेड्ने, नगरपालिकाले सामान बेच्न नदिने जस्ता धेरै समस्याहरु भएको उनीहरुको गुनासो छ । सरकारले सडकमा व्यपार गर्ने सबै व्यपारीहरुको लागि उचित स्थानको व्यवस्था गरिदिएमा सहज हुने उनीहरुको माग छ । सडकमा बसेर आफ्नो जीवन यापनको लागि दुःख गर्दा समय समयमा नगरपालिकाले लखेट्ने, बस्न नदिने, सामान खोसेर लैजाने, फालिदिने भन्दै पीडा पोख्छिन हिमालय देवी सिंह ।
यस्ता विभिन्न कठिनाइका बाबजुत पनि दिनमा २ सय देखि ३ सय सम्म आम्दानी हुने गरेकोले घर खर्च चलाउन सहज भएको छ उनलाई । उनी भन्छिन “कुनै कुनै बेला त केही पूरुषहरुले हिंसाजन्य शब्दहरु प्रयोग गर्ने, सामानको मूल्य अनुसारको पैसा नदिने गर्छन् । सरकारले पढे लेखेकालाई उनीहरुको क्षमता, योग्यता, सीप अनुसारको रोजगारी दिएमा र सडकमै भए पनि ढुक्कका साथ व्यवपार गर्न दिएमा जीवन गुजारा गर्न सजिलो हुने थियो ।”
काठमाडौंको शहरमा सपनाको संसार सजाउने मध्ये माथी उल्लेख गरिएका व्यक्ति केही उदारहणिय पात्रहरु मात्र हुन । हाम्रो देशमा काठमाडौं मात्र नभएर अधिकांश शहरहरुमा आफ्नो जीवना यापन, सन्तानको भविश्य उज्जल पार्न र विहान बेलुकाको छाक टार्नको लागि सडकमा व्यापार गर्नेहरुको संख्या नगन्य छ । अबका दिनमा सडक व्यवसायलाई व्यवस्थित बनाउनका लागि र सडकमा गरिखानेहरुका लागि राज्यले केही दीर्घकालिन कार्य योजनाहरु ल्याउन तर्फ ध्यान दिन जरुरी छ ।