logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा स्याउ खेती धेरैको रोजाइमा


अंकुरण खबर
468
Shares

कोभिड १९ महामारी पछि कर्णाली प्रदेशमा कृषि क्षेत्रमा आकर्षण बढ्दै गएको छ । महामारीले देशभरका उद्योग, व्यवसाय प्रभावित भइरहेको बेला कर्णालीमा भने व्यावसायीक रुपमा कृषिमा लाग्नेको संख्यासँगै उत्पादन समेत वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अनुसार कर्णालीमा कृषिको क्षेत्रफल बढ्दै गएको छ । आर्थिक वर्ष २०७६र ७७ को तुलनामा आर्थिक वर्ष २०७७र७८ मा कर्णाली प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ४.६८ प्रतिशतले बढेको छ ।

जसमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ४.५२ प्रतिशत, तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल ३।०३ प्रतिशत र फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफल ७.५४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशभित्र तरकारी तथा फलफूल बालीको क्षेत्रफल १३ हजार आठ सय २७ हेक्टर रहेकोमा नौ हजार ६ सय ८२ हेक्टर जमिनमा स्याउ खेती गरिएको छ ।

अघिल्लो आर्थिक वर्षमा आठ हजार दुई सय २७ हेक्टरमा रहेको स्याउ खेती यस आर्थिक वर्षमा १७।६९ प्रतिशतले बढेको छ । सडक पूर्वाधार बनेसँगै बजार पाउन थालेपछि स्याउ खेतीमा किसानको आकर्षण बढ्दै गएको उल्लेख छ ।

कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा कम योगदान रहेको कर्णाली प्रदेश तुलनात्मक रुपमा कृषि, पर्यटन र उर्जाको क्षेत्रमा बढी सम्भावना भएको अध्ययन प्रतिवेदनले औल्याएको छ । तर, वैदेशिक रोजगारीका लागि भारत तथा खाडी मुलुकमा जाने गरेका अधिकांश युवा जनशक्तिलाई प्रदेशमै रोजगारीको अवसर सिर्जनागरी बढ्दो गरिबी तथा बेरोजगारीलाई न्यूनिकरण गर्नु, भौगोलिक विकटताका बाबजुद यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रको पूर्वाधार तथा आधारभूत सेवाको विस्तारगरी समग्र पूर्वाधार क्षेत्रको विकास गर्नु प्रदेशको मुख्य चुनौती रहेको अध्ययन प्रतिवेदनले औल्याएको छ ।