पाँच महिनाका लागि उपल्लो डोल्पा सुरक्षा विहिन अवस्थामा पुगेको छ । यहाँका तीन पालिकामा रहेका प्रहरी चौकी चिसो बढेसँगै सदरमुकाम दुनै झरे पछि उपल्लो डोल्पा सुरक्षाको सुरक्षा अवस्था भगवान भरोसामा पुगेको हो । सुरक्षा दिने प्रहरी नै हिमपातले असुरक्षित भए पछि दुनै झारिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
प्रहरी चौकी रहेका घरहरू रित्ता छन् । प्रहरीहरू सदरमुकाम दुनै आइसकेका छन्, धोका प्रेमा गुरुङ भने । शे फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा रहेका प्रहरी चौकी सदरमुकाममा झारिएसँगै उपल्लो डोल्पा सुरक्षाका हिसाबले जोखिममा परेको छ ।
उपल्लो डोल्पा चोरी निकासी तथा पैठारीको उच्च जोखिममा छ । यहाँबाट महुमूल्य जडीबुटी, जंगली जनावर तथा पूराना बुद्धका मुर्तिहरू पटक पटक चोरी भएका समाचार आइरहन्छन् । प्रहरी चौकी नै नभए पछि झन् चोरी गर्नेको मनोबल बढ्ने स्थानीयको भनाइ छ । अहिले यहाँका तीन पालिकाका २१ वडा प्रहरीविहीन बनेका छन् ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निरन्जन थापाका अनुसार छार्का ताङसुङ गाउँपालिकाको कागकोट प्रहरी चौकी र शे(फोक्सुण्डो गाउँपालिकाको साल्दाङ प्रहरी चौकीका प्रहरी उपल्लो डोल्पामा रहेका छन् । अहिले सदरमुकाम दुनैबाट नै उपल्लो डोल्पाको सुरक्षा दिने गरेको डिएसपी थापाले बताए ।
डोल्पो बुद्ध गाउँपालिकाको धो र टाक्सी, शे (फोक्सुण्डो गाउँपालिकाको निजालगुम्बा, भिजेर र रापको प्रहरी चौकीका प्रहरी जिल्लामा मर्ज भएका हुन् ।
डोल्पा सबैभन्दा ठुलो जिल्ला हो । स्थानीय तहको सहयोग पाएको भए प्रहरी चौकी उपल्लो डोल्पामै राख्ने सकिने डिएसपी थापाको भनाइ छ ।
अहिले पनि सहयोग त पाइएको छ, अझै योभन्दा बढी सहयोगको अपेक्षा हामीले गरेका थियौं उनले भने । उपल्लो डोल्पामा बस्नका लागि अहिलेको समयमा लत्ताकपडादेखि चश्मा, बुटहरू नभएको उनले बताए ।
अहिले उपल्लो डोल्पामा भारी हिमपातका कारण एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था नरहेको उनले बताए ।
हिमपातले रोकियो कोभिड र नियमित खोप
उपल्लो डोल्पामा भारी हिमपात भएसँगै नियमित सञ्चालन हुने खोपदेखि कोभिड विरुद्ध लगाउने खोप अभियान समेत रोकिएको छ । मंसिर देखि चैत सम्ममा खोपहरू बन्द हुने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिए ।