खोटाङ्ग जिल्लाको फेमिली केयर अस्पतालले ग्रामीण क्षेत्रका सर्वसाधारण व्यक्तिहरुलई दिक्तेल बजारबाट नियमित स्वास्थ्य सेवा सुचारु गरेको छ ।
चैत देखि सेवा सुरु गरेको अस्पतालले कोभिड–१९ को महामारी न्यून हुँदै गए पछि पनि नियमित सर्वसाधारण व्यक्तिहरुलाई सेवा दिइ रहेको अस्पतालका अध्यक्ष डा. केके राईले बताए ।
गम्भीर अवस्थाका विरामीलाई तुरुन्तै काठ्माण्डौं लैजान ढिला हुने र बिरामीको बाटैमा ज्यान जान सक्ने हुनाले यहाँका बिरामीलाई तत्काल उपचार गर्नको लागि काठमाण्डौंबाट यो अस्पताललाई खोटाङ्ग सारिएको पनि डा. राईले जानकारी दिए ।
हार्ट अट्याक, दम, कडा निमोनिया, एपेन्डिक्स, विभिन्न दुर्घटना, प्रसूति सम्वन्धी समस्याबाट गम्भीर बनेका बिरामीलाई छिटो र छरितो उपचार दिने व्यवस्थाका लागि फेमिली केयर अस्पताललाई गाउँमा स्थानान्तरण गरिएको हो ।
५० शैयाको स्वीकृति पाएको उक्त अस्पतालमा अहिले १५ शैयाको इमरजेन्सी वार्ड सञ्चालनमा छ भने हाल अस्पतालमा जनरल फिजिसियन (एमडिजिपी) दुई जना, सर्जन एक जना र डेण्टलका एक जना डाक्टरमार्फत इमरजेन्सी सेवा तथा हाडजोर्नी, प्रसूति, बाल रोग, दाँत लगायतका जनरल सेवा प्रवाह सुरु गरिएको फेमिली हेल्थ केयर इन्टरनेशनल एण्ड रिसर्च सेन्टरले जनाएको छ ।