आज किरात समुदायले धुमधामका साथ उधौली पर्व मनाउँदै छन्।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन याक्खाले चासुवा, सुनुवारले फोलष्याँदर, राईले सकेला र लिम्बू समुदायले चासोक तङ्नामका नाममा उधौली पर्व मनाउने गर्छन्।
आजको दिन किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि कुलदेवतालाई चढाई खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने प्रचलन रहेको छ। बालीनाली राम्रो गराइदिएकोमा प्रकृतिलाई धन्यवाद दिँदै पूजा गर्ने चलन छन्।
भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर परम्परागत बाजागाजाको तालमा नाच्दै सामूहिक रुपमा पर्व मनाउने गर्छन्। घर-घरमा मिठो परिकार पकाएर खाने, आफन्तकहाँ जाने गरिन्छ।
जाडो याम सुरु भएपछि उधौली याम प्रारम्भ भएको मानिन्छ। पहाडी भेगमा पैंयु फुलेपछि उधौली याम लागेको मानिन्छ।