logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिलीमा ३५ वर्षीय बोरिक राष्ट्रपति बने


अंकुरण खबर
793
Shares

३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा निर्वाचित भएका छन्।

उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका हुन्। कास्तले मतदान केन्द्र बन्द भएको झण्डै डेढ घण्टाभित्रै आफ्नो हार स्वीकार गरेका हुन्। उनले हार स्वीकार गर्दामात्रै आधा मतगणना भएको थियो।

अहिले अधिकांश मतगणना भइसक्दा युवा नेता बोरिकले ५६ प्रतिशत मत पाएर जीत हासिल गरेका छन्। कास्तले ४४ प्रतिशत मत पाएका छन्।

सरकारविरोधी प्रदर्शनको पृष्ठभूमिमा आइतबार भएको चिलीको राष्ट्रपतीय चुनाव पछिल्लो केही दशक यताकै सबैभन्दा विभाजित परिवेशमा भएको चुनाव हो।

३५ वर्षका बोरिक विश्वका कम उमेरका नेतामध्ये एक बन्ने भएका छन्। उनी चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति बन्ने पक्का भएको हो।

हालका राष्ट्रपति सेबास्तियन पिनेरासँगको टेलिफोन संवादमा बोरिकले आफू गम्भीर चुनौतीहरुको सामना गर्न तयार रहेको बताएका छन्।

राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थीहरुको प्रदर्शनका पूर्वनेतृत्वकर्ता हुन्। उनले सन् २०१९ र २०२० चिलेलाई अस्थिर बनाएको असमानता तथा भ्रष्टाचारविरोधी प्रदर्शनमा समर्थन गरेका थिए।

कुनै समय दक्षिण अमेरिकाको एक स्थिर अर्थतन्त्रका रुपमा चिनिएको चिलेमा धनी र गरिबबीचको भिन्नता निकै गम्भीर छ। संयुक्त राष्ट्रसंघका अनुसार चिलेका एक प्रतिशत नागरिकको स्वामित्वमा देशको २५ प्रतिशत सम्पत्ति छ।

बोरिकले यो असमानता अन्त्यका लागि काम गर्ने वाचा गरेका छन्। त्यसका लागि उनले नीतिहरुमा क्रान्तिकारी परिवर्तन गर्ने बताएका छन्। एजेन्सी