जुम्लाको तापक्रम यतिबेला माइनस ६ दशमलब शून्य डिग्री छ ।
केही दिन पछि यहाँको तापक्रम माइनस १५ डिग्री भन्दा माथि पुग्ने मौसम विभागको पूर्वअनुमान छ । बढ्दो चिसोबाट जोगिन यहाँका सर्वसाधारणले जसोतसो प्रयास त गरीरहेकै छन् । तर, पानी नै जम्न थालेपछि सरसफाइ गर्ने पानी र खानेपानीसमेत अभाव हुन थालेको छ ।
बरफ बनेको पानी पगाल्ने प्रशस्त बिजुली अभाव र ज्यान तातो बनाउने लत्ताकपडा नभएका बेला यसका सर्वसाधारणलाई तातोपानी गाउँपालिकामा रहेको तातोपानी कुण्डले निकै राहत दिइरहेको छ ।
जब जुम्लामा चिसो बढ्छ तातोपानीको कुण्डमा नुहाउन आउनेको भिड लाग्छ । कुण्ड व्यवस्थापनको लागि तातोपानी पर्यटक व्यवस्थापन समिति समेत गठन भएको छ । यसले तातोपानीमा नुहाउन आउनेको व्यवस्थापन र कुण्डको संरक्षण गरिरहेको छ ।
तातोपानी धारामा नुहाएको जिल्ला भित्रकालाई २० रुपैयाँ र जिल्ला बाहिरको हकमा ३० रुपैयाँ समितले लिने गरेको समितिका कर्मचारी छकबहादुर बुढाले बताए । उनले भने, एक महिनामा ४० देखि ६० हजार शुल्कबाट मात्रै उठ्छ ।
यहाँ दिनकै एक सय ५० जनाभन्दा बढी सर्वसाधारण आउने गरेका छन् । उनी भन्छन्, जुम्लामा चिसो बढेसँगै तातोपानी धारामा नुहाउनेहरू पनि बढ्छ । यहाँ जुम्लाभन्दा बाहिरका मानिससमेत आउने गरेका छन् ।
नशासम्बन्धी समस्या भएका धेरै आउँछन्
सिंजा गाउँपालिका- १ की ५६ वर्षीया खुमेनी दमाईलाई ढाड र खुट्टाको जोर्नी दुख्ने समस्या थियो ।
यहाँको तातोपानी धारामा नुहाउँन थालेदेखि सन्चो भएको उनी बताउँछिन् । उनी जस्तैं तातोपानी धारामा नुहाएर विभिन्न समस्या ठिक भएको बताउँने धेरै भेटिन्छन् । यही करण चिसो बढेसँगै तातोपानी धारामा नुहाउनेको संख्या ह्वात्तै बढेको छ ।
महिलाका लागि असुरक्षित
नुहाउन आउने महिलाका लागी धारा असुरक्षित बन्दै गएको चन्दननाथ नगरपालिका – ५ की सुस्मिता कठायतले बताइन । उनले भनिन्, नुहाउने धरामा महिला पुरुष सराबरी हुन्छन् । सँगै नुहाउनु पर्दा महिलाहरूले असुरक्षित महशुस गर्ने उनको भनाइ छ । उनले भनिन्, धारामा नुहाउँदै गर्दा पुरुषहरू महिलालाई निहालेर हेर्छन् । महिलाहरू अशुरक्षित ठान्छन् ।
गाउँपालिकाले महिला र पुरुषका लागि अलग अलग धारा बनाउन आवश्यक भएको उनको भनाइ ।