logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युवक हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै सोमबार पनि सिरहा बजार बन्द


अंकुरण खबर
507
Shares

गोलबजार नगरपालिका–६ डोहटियामा शनिवार छुरा प्रहारबाट युवकको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाहीको माग गर्दै सोमबार पनि स्थानीयले सडक जाम र बजार बन्द गरेका छन् ।

स्थानीय प्रशासनले २४ घण्टा भित्र हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए पनि पूरा नभए पछि पीडितहरू बजार बन्द गराउन उत्रिएका हुन् ।

सडक जामका कारण अहिले सयौं सवारी साधन सडकमा अलपत्र परेका छन् भने हजारौं यात्रु बिजोग भएको छ । सबैभन्दा धेरै मार टाढा जाने लागेका यात्रुलाई परेको छ ।

बन्दकर्ताहरूले बाँसका भाटा लिएर सवारी अवरुद्ध र बजार बन्द गर्दै हिँडिरहेका छन् । उनीहरूले गोलबजार क्षेत्रको राजमार्गको दर्जनौं स्थानमा टायर बालेर, ढुङ्गामुढा सडकमा तेर्साएका छन् ।

शनिवार बेलुका घर जाने क्रममा गोलबजार नगरपालिक–६ डोहटियाका २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदाय माथि छुरा प्रहार भएको थियो । छात्तीमा छुरा लागेका रामकुमारको मृत्यु भएको छ भने, निकेश उपचारत छन् ।

पीडित पक्षका शिवशरण रायले दोषी पक्राउ नगरे सम्म आन्दोनल जारी रहने बताए । उनले आफूहरू शान्तिपूर्ण आन्दोलनमा रहेको र देषीलाई तुरुन्त पक्राउ गरी कार्वाही गर्न दबाब मात्र दिएको बताए ।

प्रहरीले भने घटनामा संलग्नहरूको पहिचान भइसकेको बताएको छ । उनीहरू घटना लगत्तै फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ ।