logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अपाङ्गता भित्रका सशक्त प्रतिभाहरु…


अंकुरण खबर
5.07K
Shares

अपाङ्गता कुनै पनि व्यक्तिको शरीरमा भएको एक अवस्था हो । तर हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तिलाई हेयको भावले हेर्ने गरिन्छ । हामीले अपाङ्गताको अवस्थालाई स्वीकार गरेर अपाङ्गता अनुकूलको वातावरण निर्माण गरी आवश्यकता अनुसारको सामाग्रीहरु उपलब्ध गराए उनीहरुले पनि समान्य व्यक्तिहरुले भन्दा राम्रो काम गरेका उदाहण धेरै छन् ।

नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई १० प्रकारमा वर्गिकरण गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुुसार विश्वमा अपाङ्गता भएका व्यक्तिहरुको जनसंख्या ६५ करोड रहेको अनुमान गरिएको छ । जसमा ८० प्रतिशत जनसंख्या विकसित देशहरुमा बसोबास गर्ने गर्दछन् । नेपालमा भने राष्ट्रिय जनगणना २०६८ का अनुसार ५ लाख १३ हजार ३ सय २१ रहेको अर्थात १.९४ प्रतिशत जनसंख्या रहेको छ । यद्यपी अपङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुका अनुसार यो संख्या अझ धेरै हुन सक्ने आकलन छ ।

अझै पनि अधिकांशले अपाङ्गता भएका व्यक्तिहरुलाई   कमजोर ठान्ने, केही गर्न सक्दैन भन्ने, हेला तथा तिरस्कार गर्ने, समाजको बोझ मान्ने गर्दछन् । अपाङ्गता अनुकुलको वातावरण, परिवार तथा समाजको साथ सहयोग र अवसर पाएको खण्डमा अपाङ्गता भएका व्यक्तिहरुले साङ्ग भन्दा धेरै राम्रा काम गरेर अन्तर्राष्ट्रिय स्तरमै आफ्नो नाम राख्न सकेका उदाहरणहरु धेरै छन् । त्यसको लागि आवश्यक छ त अपाङ्गता मैत्री वातावरण, उपकरण, घर परिवार र समाजको सहयोग ।

यस्तै उदाहरण मध्ये एक हुन् झमक कुमारी घिमिरे । उनले आफु शारीरिक रुपमा अपाङ्गता भए पनि खुट्टाले नै लेखेर साहित्यिक क्षेत्रमा ठुलो योगदा दिन सफल भएकी छिन । उनले लेखेको साहित्य अन्तर्राष्ट्रिय स्तरका विश्व विद्यालयहरुमा पढाई हुन थालेका छन् । पूर्ण दृष्टिविहिन अपाङ्गता भएका व्यक्ति बाबुराम आर्चायले विश्वको अग्लो शिखर सगरमाथाको नामाकरण गरेका थिए । अपाङ्गता भएका व्यक्तिहरुले गरेका यस्ता प्रेरणादायी कामहरु धेरै नै छ ।

तर पनि अधिकांश अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्गता भएकै कारण अपमानित हुन परेको छ । सरोकारवाला निकायहरुले प्रदान गर्ने सेवा सुविधाहरुको उपयोग गर्नको लागि भौतिक तथा मानविय आवरोधहरुको सामना गर्नु परेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई अधिकांश स्थानमा अपशब्दहरु, असभ्य भाषाद्धारा उपनाम दिने, विग्रेको भत्केको तथा कमजोरीहरुसँग तुलना गर्ने कार्यको अन्त्य हुन सकेको छैन । यस्ता कार्यहरुको अन्त्य गर्नका लागि, अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकार सुनिश्चित गर्नका लागि नेपाल सरकार, केही गैरसरकारी निकायहरु त्था अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुलेका प्रयास जारी रहेको छ । विभिन्न संघर्षका बाबजुत पनि केही अपाङ्गता भएका व्यक्तिहरु सक्षम बनेर समाजमा उदारहणिय पात्र बनेका छन् र कतिपय व्यक्तिहरुका लागि प्रेरणाका स्रोत बनेका छन् । यस्तै केही प्रेरणादायी पात्रहरुसंग अंकुरण खबरका लागि शर्मिला विश्वकर्माले गरेको कुराकानीमा आधारित अंश…

पहिलो दृष्टिविहिन महिला निरा, ८ औं तहको अधिकृत 

यस्तै केही उदारहणहरु मध्ये ललितपुर जिल्ला महाँकाल गाँउपालिका वडा नं ३ निवासी निरा अधिकारी ८ वर्षको उमेरमा अत्याधिक ज्वरो आएको कारण विस्तारै आखाँको हेर्ने शक्तिमा कमी आएको र उपचारका लागि काठमाण्डौंको त्रिपुरेश्वरमा रहेको आँखा अस्तालमा शल्यक्रिया गरिएको थियो । त्यसपछि दुबै आँखाको ज्योति गुम्यो र उनी पूर्ण रुपमा दृष्टिविहिन बन्न पुगिन । आँखाको ज्योति गुमे पछि आमा, बुवा, घर परिवारका अन्य सदस्यहरुको माया, ममता, साथ सहयोगले गर्दा ललितपुर जिल्लामा रहेको नमुना मछिन्द्र विद्यालयमा शिक्षा लिने अवसर पाइन ।

वि.स.२०५१ सालमा सोही विद्यालयबाट प्रथम श्रेणीमा एस.एल.सी. पास गर्न सफल भइन भने प्रमाण पत्र तह र स्नातक तह पद्धम कन्या क्याम्पसबाट उत्कृष्ठ अंक ल्याएर पास भइन । अध्यानलाई निरन्तरता दिने क्रममा स्नाकोत्तर तह, जनप्रकाशन र १ वर्षे बि. एड. स्नातक तह पास गरेर पोष्ट ग्राइजुएसन गर्न सफल भइन । उनी भन्छिन्  “ मलाई मेरा घर परिवार र  साथीसंगीहरुको साथ सहयोग, माया ममताले गर्दा मैले सफलता पूर्वक शिक्षा हासिल गर्न सके ” ।

निरा अधिकारी

यसरी सफलता पूर्वक शिक्षा लिए पछि लोकसेवाको तयारीमा जुटिन निरा । नेपाल सरकारले वि.स.२०६४ सालबाट अपाङ्गता भएका व्यक्तिहरुलाई आरक्षण कोटाको व्यवस्था गरेको थियो ।  उनले वि.स.२०६६ सालमा अपाङ्गता आरक्षण कोटाबाट नै लोकसेवा आयोग अन्र्तगत अधिकृतको परीक्षा पास गर्न सफल भइन । नेपालमा दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरु मध्ये अधिकृत स्तरको ८ औं तहमा प्रवेश गर्ने पहिलो दृष्टिविहिन महिला निरा अधिकारी नै हुन । पूर्ण रुपमा दृष्टिविहिन अपाङ्गता भएकी महिला निरा अधिकारी अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुमा आवद्ध भएर काम पनि गरेकी छिन् । उनले वि.स.२०६४-६५ सालमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको केन्द्रिय सदस्य, २०६७ सालमा नेपाल नेत्रहिन महिला संघको संस्थापक अध्यक्ष भएर काम गरिन भने अहिले नेपाल नेत्रहिन संघको लेखा संयोजकको रुपमा आवद्ध रहेकी छिन् । उनले अन्तर्राष्ट्रिय मुलुकहरु जापन, स्वीजरल्याण्ड, स्वीडेन, नेदरल्याण्ड, श्रीलङ्का, बंगलादेश, अमेरिका, दक्षिण अफ्रिका लगाएतका मुलुकहरुको भ्रमण गरेकी छिन् । हाल भने ललितपुर महानगरपालिकामा नेपाल सरकार अन्र्तगत अधिकृत स्तरको ८ औं तहमा कार्यरत छिन् ।

मुखैले चित्र बनाउने चित्रकार अमिर 

अपाङ्गता भएका व्यक्तिहरुलाई घरको बोझ हुन, उनीहरुले केही पनि गर्न, काही पनि जान सक्दैनन भनेर हेला गर्ने, विभेद गर्ने अपशब्द बोल्ने समाजका व्यक्तिहरुको मुख बन्द गराउन सफल भएका छन्  थाहानगरपालिका वडा नं १ निवासी शारीरिक अपाङ्गता भएका व्यक्ति अमिर बमजन । जन्मजात नै शारीरिक अपाङ्गता भएका अमिर बमजनका हात खुट्टाहरु भएको भएता पनि राम्ररी काम गर्न सक्दैनन् । उनी बस्न, हिड्डुल गर्न पनि सक्दैनन् । तर पनि समाजमा प्रेरणाको श्रोत बन्न सफल भएका छन् । २२ वर्षिय अमिर शारीरिक अपाङ्गता भएको र हिड्डुल गर्न नसकेको कारण विद्यालय जाने उमेरमा विद्यालय नै गएर शिक्षा लिन सकेनन् । उनकी आमाले नै दैनिक रुपमा उनको सबै कार्यहरुमा सहयोग गर्ने गर्थिन । घर परिवारको साथ सहयोग र माया प्रशस्त पाएता पनि समाजका केही व्यक्तिहरुले उनलाई अपशब्द प्रयोग गर्ने, उपनाम दिने, यस्ता त बाँचेर पनि के नै गर्न सक्छन् र ? भन्ने गरेको र ती बचनहरुले मन दुख्ने गरेको उनी बताउछन् ।

आफु शारीरिक अपाङ्गता भएको कारण हिड्डुल गर्न नसक्ने हुदा घरको पिढीमा बसेर रुखका पातहरु हेर्ने, डाडा पारीको गुम्बा हेर्ने र आफ्नै तालमा बहेको हावालाई महशुष गरी तिनै रुखका पात, हावा, आकाशको बादलसँग रमाउदै बाल्यकाल विताएका अमिरले एक दिन गुम्बा हेदै गर्दा पहिलो पटक कापीको पानामा गुम्बाको आकृति कोरेका थिए । घरको आर्थिक अवस्था कमजोर भएको, शारीरिक अवस्थामा पनि कठिनाई भए पछि घर भित्र नै सिमित हरेको अमिर बमजनलाई काठमाण्डौंमा रहेको करुणा फाउण्डेशनले वि.स.२०७२ सालको भूकम्प पश्चात भूकम्प प्रभावित व्यक्तिहरुको अवस्था बुझ्न जाने क्रममा मकवानपुर जिल्लामा भेटेको  थियो । उनको प्रतिभा देखेर उक्त प्रतिभा प्रष्फुटनका लागि काठमाण्डौं ल्याइएको थियो । यसै संस्थाको सहयोगमा उनले चित्र बनाउने, गित गाउने, र शब्द रचना गर्ने कलालाई सबै सामु ल्याउन सफल भए अमिर । गाँउमा हुदा स्थानीय विद्यालयमा कार्यरत शिक्षिका अनिता तामाङ्गबाट अक्षर चिनेको र पछि करुणा फाउण्डेशनको सहयोगमा रङ्गीन रङ्गहरुसँग खेल्दै मुखले ब्रस समातेर विभिन्न चित्रहरु कोर्न थाले ।

अमिरले बनाएको चित्र

उनले मुखले नै मोबाइल, ल्यापटप चलाउने गर्दछन् । अमिर यस्ता सर्जक पनि हुन ज्यादै मन छुने, यर्थाथसँग मेल खाने शब्द रचना गरी आफ्नै सुमधुर आवाजबाट गीत पनि गाउने गर्दछन् । अहिले सम्म उनले ८ वटा गीत रेकर्ड गरेका छन् भने ६ वटा गीतमा आफ्नै शब्द रचना गरिसकेका छन् । अमिरले अहिले सम्म ४ सय भन्दा बढी चित्रहरु मुखको सहायताले नै बनाएका छन् । यस्ता प्रतिभाका धनि अमिरलाई गत वर्ष रोल्पा जिल्ला निवासी साङ्ग महिला पुष्पा घर्तिमगरले जीवनभर साथ दिनका लागि विवाह पनि गरिन भने हाल उनकी एक छोरी पनि छन् । पहिले अमिरलाई नराम्रो दृष्टिकोणले हेर्ने व्यक्तिहरुले अहिले अमिरको काम र क्षमता देखेर पहिला यस्तो भनियो भनेर पछुताएको उनी बताउछन् ।

ह्वीलचियरबाटै बास्केट बल खेल्छिन यामी 

अपाङ्गता भित्र पनि यस्तै उदारहणिय व्यक्तिहरु मध्ये प्यूठान जिल्लाकी ३२ वर्षिया यामी झाक्री मगर पनि एक हुन । १७ वर्षको उमेरमा मेरुदण्डमा ट्यूमर पलाएर शल्यक्रिया गरे पछि उनी हिड्न सकिनन् र जीवनभर ह्वीलचियरको सहयोग लिनु पर्ने भयो । उनको कम्मर भन्दा मुनीको भाग चल्दैन । छोएको, दिसा पिशाब आएको पनि थाहा हुदैन । उनले पनि घर परिवारको साथ सहयोगले गर्दा छुटेको पढाईलाई निरन्तरता दिदै वि.स. २०६७-६८ साल देखि ह्वीलचियर बास्केट बल खेल्न थालिन र ह्वीलचियर म्याराथुनमा पनि सहभागि हुदै आएकी छिन् ।

यामी झाक्री मगर

अपाङ्गता भएका व्यक्तिहरु कमजोर हुन्छन, केही पनि गर्न सक्दैनन् भन्ने व्यक्तिहरुका लागि उनले खेल्दै आएको खेलले समाजमा अवसर पाएको खण्डमा जस्तो सुकै कार्य पनि सम्पन्न गर्न सक्ने रहेछन् भन्ने उदाहण दिएको छ । ह्वीलचियर बास्केट बल र ह्वीलचियर म्याराथुनले अपाङ्गता भएका खेलाडीहरुलाई शारीरिक तन्दुरुस्त राख्नको लागि पनि सहयोग गर्ने, समाजमा घुलमिल हुने, अपाङ्गता भएका व्यक्तिहरु प्रति जनचेतना जाग्ने र खेलकुदको विकासको लागि योगदान दिन सक्षम हुन सहयोग गरेको छ ।

यी माथिका त केही प्रतिनिधि पात्र हुन् । यस्तै प्रतिभा हाम्रो समाजमा धेरै छन् । तर विविध कारणले सबै बाहिर आउँन सकेका छैनन् । अपाङ्गता भएका व्यक्तिहरुले गरेका राम्रा कामका कारण पनि देशको नाम शिर उच्च भएका उदाहरण धेरै छन् । त्यसैले अपाङ्गता भएका व्यक्तिहरुलाई अपमान होइन सम्मान गरौ, अवसरबाट बञ्चित होइन काम गर्ने अवसर प्रदान गरौ । अपाङ्गता अनुकुलको वातावरण निर्माण गरौ र उनीहरुलाई क्षमता र योग्यताका आधारमा अवसर प्रदान गरी सबै निकायहरुमा अर्थपूर्ण सहभागिता गराए मात्रै यथार्थमै समानता कायम हुन सहयोग पुग्दछ ।