भारतको महाराष्ट्रमा पर्ने लावुल गाउँले विगत एक सातादेखि संसारभरि चर्चा पाएको छ जसको कारण हो बाँदर र कुकुरका छाउराछाउरीबीच सङ्घर्ष भएको समाचार।
सो समाचारलाई लिएर सञ्चारमाध्यमहरूले विभिन्न खाले दाबी गरेका छन्। कतिपयले बाँदरहरूले दुई सयवटा छाउराछाउरीलाई मारिदिएको दाबी पनि गरेका छन्।
तर बीबीसी मराठीका एकजना संवाददाता घटना भएको गाउँ पुग्दा अर्कै तस्बिर बाहिर आयो। गाउँ पुगेपछि हामी ग्राम पञ्चायत कार्यालय पुग्यौँ र सो घटनाबारे जानकारी लिने प्रयास गर्यौँ।
कार्यालयमा उपस्थित कर्मचारी लगायतसँग हामीले पूरै घटना विवरणबारे सोध्यौँ। अनि मानिसहरूले विस्तारमा बताउन शुरू गरे।
हुन त बाँदर र छाउराछाउरीबीच सङ्घर्ष भएका विषयमा समाचारहरू अघिल्लो साता मात्रै सञ्चारमाध्यममा आए। तर लावुल गाउँका मानिसहरूका अनुसार बाँदर र छाउराछाउरीबीच सङ्घर्षको शुरूवात गत सेप्टेम्बर महिनामै भएको थियो।
सेप्टेम्बरको शुरूवाततिर लावुल गाउँमा दुईवटा बाँदर आएका थिए।
ग्राम पञ्चायत समितिका सदस्य रवीन्द्र शिन्देले भनेः “गाउँमा धेरै बाँदर आउँदैन्। कहिलेकाहीँ आउने गरे पनि तिनीहरूले खासै दुःख दिने गरेका थिएनन्। तर यसपालि बाँदरहरू आउँदा विचित्रको घटना देख्न पाइयो।”
ती बाँदरहरूले छाउराछाउरीलाई अग्ला रूख वा अग्ला भवनमाथि लिएर गए। केही छाउरा माथिबाट खस्दा मरे।
बाँदरले छाउराछाउरी मार्न थालेको अफवाह त्यहीँबाट फैलिन शुरू भयो र एक कान दुई कान मैदान भयो।
त्यसपछि बाँदरले मान्छलेहरूलाई पिछा गरेको भन्ने खबरहरू पनि आए।
बाँदरहरूले बच्चाहरूलाई पिछा गरेका कुरा सुनेपछि मानिसहरूले भित्रबाट घर बन्द गर्न थाले। यो कुरा ग्राम पञ्चायतसम्म पनि पुग्यो।
गाउँमा आतङ्कको माहोल बनेपछि ग्राम पञ्चायले वन विभागमा घटनाबारे उजुरी गर्दै सहयोग माग्ने निर्णय लियो।
ग्राम विकास अधिकारी नानासाहेब शेलकेले भनेः “मैले यसबारे सेप्टेम्बर १२-१३ तारिखतिर वन विभागलाई लेखेको थिएँ। तर कुनै जवाफ आएन।”
दोस्रो पटक पत्राचार गर्दा पनि जवाफ आएन।
गाउँस्थित विवाद समाधान समितिका अध्यक्ष राधाकिशन सोनवानेका अनुसार पछि वन विभागले एक-दुई पटक टोली पठाए पनि तिनले निरीक्षण मात्रै गरे। त्यसपछि गाउँलेहरू सञ्चारमाध्यमको सहयोग लिन पुगे।
सञ्चारमाध्यममा खबर आउनासाथ घटनाबारे कारबाही भयो।
वन विभागले नागपुरबाट एउटा टोली बोलायो। उक्त टोलीले डिसेम्बर १९ मा जालमा पारेर बाँदरहरूलाई समात्यो।
बाँदरहरूले छाउराछाउरी लग्ने भएकोले तिनीहरूलाई पासोमा पार्न छाउराछाउरीकै मद्दत लिइयो।
वडवानीका वन अधिकारी डीएस मोरेले बीबीसी मराठीसँग भनेः “ती बाँदरहरूलाई समातेपछि तिनीहरूको प्राकृतिक वासस्थान अर्थात् जङ्गलमा छोडियो।”
सञ्चारमाध्यममा घटनाबारे समाचार आएपछि धेरैको ध्यान त्यता गयो तर त्यसक्रममा छाउराछाउरीको बढ्दो मृत्युले पनि थरीथरीको हल्ला फैलियो।
शुरूतिर १० देखि १५ वटा छाउराछाउरी मारिएको समाचार आए।
केही दिनमा त्यो सङ्ख्या बढ्यो र कतिपय सञ्चारमाध्यमले बाँदरहरूले २५० वटा छाउराछाउरी मारेको पनि दाबी गरे।
तर लावुल गाउँका कतिपयले सयभन्दा बढी छाउराछाउरी मारिएको बताए भने कतिपयले २०० वटा मारिएको बताए।
मारिने छाउराछाउरीको सङ्ख्या बढ्दै जाँदा अफवाह पनि फैलँदै गयो।
कतिपयले शुरूमा एउटा कुकुरले एक नवजात बाँदरलाई मारेपछि बाँदरहरूले बदला लिन थालेको पनि बताए।
ग्राम पञ्चायत सदस्य रवीन्द्र शिन्देले भनेः “गाउँका केही मानिसका अनुसार नवजात बाँदर मारिएपछि एउटा बाँदरनी बहुलाई र छाउराछाउरी लिएर भाग्न थाली।”
बाँदरहरूले छाउराछाउरी लग्नुका कारणबारे पनि वन अधिकारी डीएस मोरेले बताए।
उनले भनेः “कुकुरहरूको रौँमा जुम्रा तथा किर्ना हुन्छन् जुन बाँदर खान रुचाउँछन् र त्यही खानका लागि बाँदरहरूले छाउराछाउरी लग्छन्।”
छाउराछाउरीको जिउबाट जुम्रा तथा किर्ना खाएपछि तिनीहरूलाई बाँदरहरूले रूख वा छानामाथि अलपत्र छाडिदिँदा खान नपाएर अथवा खसेर तिनीहरू मरेको उनी बताउँछन्।
बीबीसीको सहयोगमा