logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वायत्त शैक्षिक संस्थातर्फ लम्किँदै जनभावना क्याम्पस


अंकुरण खबर
1.482K
Shares

जनभावना क्याम्पसले विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र पाएको दुई वर्ष पार गरी तेस्रो वर्ष प्रवेश गरेको छ ।

क्युएए प्रमाणपत्र प्राप्त गरेपछिका उपलब्धिलाई सार्वजनिक गर्न बुधबार आयोजना गरिएको कार्यक्रममा जननभावना क्याम्सका प्रमुख शिवराज सञ्जलेले अब जनभावना स्वायत्त शैक्षिक कार्यक्रम तर्फ उन्मुख हुने घोषणा गरे । ललितपुरको चापागाँउस्थित जनभावना क्याम्पसले २०७६ पुस ७ गते क्यूएए प्रमाणपत्र पाएको हो ।

प्रमुख सञ्जेलले आफूहरू पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन लगायतका कार्यक्रममा क्रियाशील भएको जानकारी दिए । सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले आफूहरूले विश्व विद्यालय अनुदान आयोगले तय गरेका आठवटा मापदण्ड पूरा गरेकाले उपत्यकाकै पहिलो क्यूएए प्रमाणपत्र प्राप्त क्याम्पस बनाउन सफल भएको स्मरण गरे ।

अर्का क्याम्पस प्रमुख निर्मल न्यौपानेले आफूहरूले अब्बल शिक्षा प्रदान गर्न सफल भएकाले क्यूएए प्रमाणपत्र प्राप्त गरेको जिकिर गर्दै यो अवस्थालाई टिकाइ राख्नु चुनौती हुने स्मरण गराए ।

सञ्चालक समितिका सदस्य डिल्ली घिमिरेले सो क्याम्पसका शिक्षकको मिहिनेतकै कारण क्याम्पसले क्यूएए मान्यता प्राप्त गर्न सक्ने आधार बनेको धारणा राखे ।

अर्का सदस्य रामहरी घिमिरेले सो क्याम्पसले गुणस्तरीय शिक्षाका लागि लिएका योजना अघि बढाउन सञ्चालक समिति सधै तयार रहेको बताए ।

कार्यक्रममा दिइएको जानकारी अनुसार मुलुकभर एक हजार चार सय २५ शैक्षिक संस्थामध्ये ५३ वटा शैक्षिक संस्थाले मात्रै क्युएए मान्यता प्राप्त गरेका छन् ।

क्याम्पसले गोदावरी–१० र ११ मा अवस्थित कूल २८ रोपनी सार्वजनिक जग्गा प्राप्तिको चरणमा छ । जग्गा प्राप्तिलगत्तै क्याम्पसले सुविधा सम्पन्न भवन बनाउने योजनाअघि बढाएको छ ।

क्याम्पसमा व्यवस्थापन तर्फ स्नातकोत्तरमा एमबीएस, स्नातक तहमा बीबीएस, मानविकी संकायतर्फ स्नातक तहमा बीए, बीएएसडब्लु, शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रम सञ्चालित छन् ।

यस्तै मानविकी संकाय तर्फ प्राविधिक धारको बीसीए कार्यक्रम सञ्चालित छ भने शिक्षा शास्त्र संकायतर्फ बीआईसीटीई कार्यक्रम सञ्चालन गर्ने अन्तिम तयारीमा क्याम्पस छ ।

क्याम्पसका दुईवटा ठूला भवन छन् । क्याम्पसमा सेमिनार हल, ओटेमेटेड ओपन एक्सेस लाइब्रेरी, व्यवस्थित इएमआइएस, डिजिटल जुम स्टुडियो, कम्प्युटर ल्याब, बेसिक अनलाईन ल्याब, रेडियो स्टुडियो, प्रोजेक्टर र स्मार्टबोर्डसहितका डिजिटल कक्षाकोठा रहेको क्याम्पस प्रमुख सञ्जेलले जानकारी दिए ।

क्युएए के हो ?

विश्व विद्यालय अनुदान आयोगले देशभरका शैक्षिक संस्थाहरूलाई उनीहरूको शैक्षिक उपलब्धिलाई आधार मानेर संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०६६र०६७ बाट सुरु भएको यो कार्यक्रममा हालसम्म नेपालका ५३ शैक्षिक संस्थाहरूले प्रमाणपत्र पाइसकेका छन् ।

अनुदान आयोगले सरकारी, सामुदायिक तथा निजी क्याम्पसहरूको गुणस्तर मापन गर्दै क्युएए प्रदान गर्दै आएको छ । क्युएए प्रक्रियामा जान चाहने उच्च शैक्षिक संस्थाहरूको ८ आधारमा मूल्यांकन गरी प्रमाणपत्र प्राप्तिका लागि सिफारिस गर्छ ।

नीति नियम, पाठ्यक्रमसम्बन्धी पक्ष, पढाई सिकाई र मूल्यांकन प्रणाली, अनुसन्धान, परामर्श, भौतिक पूर्वाधार र सिकाईका स्रोत, विद्यार्र्थी हित र दिशानिर्देश, सूचना प्रणाली, सार्वजनिक सूचना वितरण प्रणालीलाई मूल्यांकनका आधार आयोगले बनाएको छ ।

क्यूएए प्रमाणित विश्वविद्यालय र कलेजमा अध्ययन गरेका विद्यार्थीले मात्र विदेशी कलेजमा स्वतः समकक्षताको मान्यता पाउने नियम छ । यही नियमका कारण सरकारले नेपालका सबै कलेजलाई क्युएए प्रक्रियामा आउन अनुरोध गर्न थालेको छ । गुणस्तर सुनिश्चितता प्रमाणपत्र लिएका नेपाली कलेज वा विश्वविद्यालयको प्रमाणपत्रलाई मान्यता दिने क्रम सुरु भइसकेको छ ।