पछिल्ला दिनमा राजधानी काठमाडौं उपत्यकासहित देशैभर चिसो बढिरहेको छ।
दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औंल्याएका छन् ।
गत एकसातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस हुँदा दुई दिनयता राजधानीसहित देशभर बढी चिसो महशुस गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणमा एकसाताको अवधिमा न्यूनतम दुईदेखि चार डिग्रि र अधिकतम तापक्रम १६, १८ तथा २० हाराहारी थियो। आज काठमाडौंको न्यूनतम चार दशमलव चार र अधिकतम १८ डिग्रि सेल्सियस रहेको छ।
अबका दिनमा मौसम फेरबदल भइरहने छ। अझै चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् शान्ति कँडेलले बताए।
‘अबका दिनमा मौसम फेरबदल भइरहन्छ, हल्का वर्षा र हिमपातको सम्भावना रहन्छ,’ उनले भने, ‘अधिकतम तापक्रम एक÷दुई डिग्रि सेल्सियस बढे पनि न्यूनतम तापक्रम घट्ने र बदलीसँगै घाम कमजोर हुने हुनाले चिसो क्रमशः बढ्ने देखिन्छ, तापक्रम माइनस पुग्छ पुग्दैन अहिले भनिहाल्ने अवस्था छैन।’
अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । तथापी पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद् कँडेलको भनाइ छ।