पोखरामा निर्माण सकिएको अन्नपूर्ण केबलकारको परीक्षण सफल भएको छ ।
पोखरा १८ सेदी देखि पर्यटकीय क्षेत्र सराङकोट जाने गरी निर्माण गरिएको केबलकार अंग्रेजी नयाँ वर्षदेखि खुला गर्ने तयारी छ । कोभिड महामारीका कारण निर्धारित मितिभन्दा १ वर्ष ढिलो गरी केबलकार निर्माण सकिएको सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।
केबलकारमा जडान भएका गण्डोला ( यात्रु बोक्ने डिब्बा ) र टावरहरुको परीक्षण गर्न जापानबाट ७ जनाको टोली पोखरा आएको छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार सबै चरण पार गरे पछि मात्र व्यावसायिक रुपमा सञ्चालन गर्नु पर्ने व्यवस्था छ । लोड परीक्षण करिव सकिएको कम्पनीले जनाएको छ ।
२.४ किलोमिटर लम्बाइको केबलकारका १८ वटा टावर छन् भने एउटा सामान बोक्ने सहित १८ वटा गण्डोला राखिएको छ । प्रत्येक डब्बाले ८ जना यात्रु ओसार्न सक्छ ।
केबलकार सञ्चालनमा आउँदा २५ जना भन्दा बढीले रोजगारी पाउने छन् । माथिल्लो स्टेसन भवनमा स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निर्माण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निर्माण भएको छ ।
केबलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने विश्वास लिइएको छ । केबलकारमा यात्रा गर्दा एकैपटक हिमाल, ताल, हरियो वन र पोखराको मनोरम दृश्य अवलोकन गर्न पाइनेछ । केबलकार निर्माणमा २ अर्बभन्दा बढी खर्च भएको निर्माण कम्पनीले जनाएको छ ।
केवलकारमा चढ्दा नेपालीहरुले दोहोरो शुल्क ६ सय रुपैयाँ तिर्नु पर्छ भने स्थानीय, विद्यार्थी तथा जेष्ठ नागरिक लगायतका लागि विशेष छुट दिइने त्रिपाठीले बताए । उनका अनुसार विदेशीले यही केवलकारमा ७ सय र ८ सय रुपैयाँ भाडा तिर्नु पर्छ ।
एसियन नागरिकलाई ७ सय र अन्य मुलुककालाई ८ सय रुपैयाँ तोकिएको हो । ४ वर्ष अघिदेखि केबलकार निर्माण सुरु भएको थियो । केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहित नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।