गैरआवासीय नेपाली संघ (एनआरएनए) को डिसेम्बर महिनाका लागि तोकिएको निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित भएको छ।
एनआरएनए निर्वाचन समितिले शनिबार एक सूचना प्रकाशित गरी गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सूची पूर्ण रुपमा प्राप्त भइनसकेको जनाउँदै निर्वाचन प्रक्रिया स्थगित गरेको जनाएको हो ।
‘यसले गर्दा छानबिन प्रक्रिया प्रभावित भई यसअघि प्रकाशित गरिएका कार्यतालिका स्थगन गरिएकोमा हालसम्म पनि मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मितिसहितका सबै कार्यतालिका पछि प्रकाशित गरिने छ,’ समितिले भनेको छ ।
यस अघि निर्वाचन समितिले गत १५ डिसेम्बरमा सूचना प्रकाशित गरी डिसेम्बर २६ र २७ तारिखमा मतदान गर्नेबाहेकका सबै निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको थियो। संघद्वारा प्रकाशित प्रारम्भिक मतदाता नामावलीमा व्यापक धाँधली भएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि गत अक्टोबरमा तोकिएको संघको दशौँ महाधिवेशन र चुनाव पर सरेको थियो ।
प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेल तथा निर्वाचन समितिका सदस्य डा. गणेशमान गुरुङले मतदाता नामावली सम्बन्धी विवाद समाधान नभई चुनाव गराउन नसकिने भन्दै राजीनामा दिए पछि डिसेम्बर भित्र चुनाव गराउने कार्यतालिका अलपत्र परेको थियो।
डेलिगेट्स सम्बन्धी विवाद समाधान गर्न अध्यक्ष कुमार पन्तद्वारा गठित चार सदस्यीय उच्चस्तरीय समितिले विभिन्न विकल्पबारे छलफल जारी राखेको छ । समितिमा संघका केन्द्रीय सल्लहकार विश्वआदर्श पण्डित, डा. यादव पण्डित, सचिव गौरी जोशी र प्रवक्ता डिबी क्षेत्री छन् ।