logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रक्रिया पुरा नगरी ढुंगा उत्खनन गरेको भन्दै निर्माण कम्पनीका जेसिभी चालक पक्राउ


अंकुरण खबर
1.118K
Shares

प्रक्रिया पुरा नगरी ढुंगा उत्खनन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले निर्माण कम्पनी सम्बद्ध जेसिभी तथा व्याकहोलोडर चालकलाई नियन्त्रणमा लिएको छ ।

दिक्तेल–आहाले सडक (१०.९७४ किलोमिटर) खण्ड कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीका जेसिभी तथा व्याकहोलोडर चालक महेन्द्र राई र झनकनाथ तिमिल्सेनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

दिक्तेल–आहाले सडक खण्डको खाल्ले क्षेत्रमा प्रक्रिया पुरा नगरी सडकभन्दा माथि डोजर लगाएर ढुंगा निकालेको पाइएकाले दुई जना चालकलाई ‘होल्ड’ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । ‘डाँडोमा डोजर चलाएर खनिरहेको पाइएको छ । निर्माण कम्पनीले कागजपत्र देखाउन सकेन । अनुमति लिएको पनि देखिएन,’ डिएसपी लम्सालले भने, ‘प्रक्रिया पुरा गरेर ढुंगा निकाल्ने काम गर्नुपर्छ । ढुंगा झिक्ने काम होल्ड गरिएको हो ।’

नेपाल निर्माण व्यवसायी संघ खोटाङले भने दुई चालकलाई विना कारण प्रहरीले पक्राउ गरेको भन्दै विरोध जनाएको छ । प्रमुख जिल्ला अधिकारीको निर्देशनमा दुई चालकलाई अवैधानिक रूपमा पक्राउ गरी दिनभर बन्धक बनाइएको नेपाल निर्माण व्यवसायी संघको विज्ञाप्तीमा उल्लेख छ । संघले गैर–कानुनी रूपमा पक्राउ गरी मानव अधिकार उल्लंघन गर्ने प्रहरीमाथि कारबाही माग गरेको छ ।

जेसिभी तथा व्याकहोलोडर चालकलाई प्रहरीले साँझ छाडेको निर्माण कम्पनी याक्थुङहाङरसापरसिरुवा जेभीका प्रतिनिधि खगेन्द्र राईले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अनुमतिमा स्थानीय परशुराम दाहालको ढुंगा खानी किनेर सडक कालोपत्रेको काममा प्रयोग गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।

निर्माण कम्पनीले सडक कालोपत्रेको कामका लागि ढुंगा झिक्न र क्रसर चलाउने प्रयोजनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अनुमति पाएको हो । कतिपयले भने सडकको कामका लागि अनुमति दिइएको ढुंगा गिट्टी अन्यत्र विक्री गरिएको गुनासो गरेपछि मुख्य ठेकेदारलाई सोधपुछ गर्नुपरेको नगर प्रमुख दिपनारायण रिजालले बताए ।

‘विकास निर्माणका लागि सम्बन्धित ठाउँकै श्रोत प्रयोग गर्ने हो । सडककै कामका लागि ढुंगा झिक्ने अनुमति दिएकै हो,’ रिजालले भने, ‘दायाँ–बायाँ गरेको छ र कानुन विपरीत भएको छ भने कारबाहीको दायरामा ल्याउँला तर सडक बनाउने कामलाई अहिले रोक्न हुँदैन भनेका छौं ।’