logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डकाे राजनीतिक प्रतिवेदन : संविधान खारेज गराउने षड्यन्त्र जारी छ


अंकुरण खबर
1.261K
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधान खारेज गराउने षड्यन्त्र भइरहेकाे बताएका छन् ।

काठमाडाैंमा जारी पार्टीकाे ८औँ महाधिवेशनमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा प्रचण्डले ‘क्रान्तिमा पराजित सामन्ती तत्व दलाल नोकरशाही पुँजीपति र तिनको पक्षपोषण एवं प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू संविधान खारेज गराउने षड्यन्त्रमा लागि रहेका छन्’ उल्लेख गरेका छन् ।

तर, कम्युनिस्ट क्रान्तिकारीदेखि राष्ट्रिय स्वाधीनताका पक्षधर देशभक्त र लोकतान्त्रिक शक्ति भने संविधानको रक्षा र परिमार्जनको पक्षमा अगाडि बढिरहेकाे उनकाे दाबी छ । ‘यही वर्गीय राजनीतिक अन्तर्विरोधको बीचबाट आजको नेपाली समाज अगाडि बढिरहेको छ,’ प्रचण्डले भनेका छन् ।

उनले प्रतिनिधिसभा विघटन लगायतका घटनाबारे पनि उल्लेख गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेकाे घटनालाई प्रचण्डले भनेका छन्, ‘असंवैधानिक र निरंकुुश तवरबाट पटकपटक प्रतिनिधिसभाको विघटन गर्ने संविधान र ऐनको व्यवस्थाविपरीत राजनीतिक दलहरूलाई विभाजन गर्नेदेखि संवैधानिक र अन्य  महत्वपूर्ण नियुक्ति गरेर अस्थिरता र अराजकतालाई मलजल गर्ने, संघीयताको मर्म र भावनाविपरीतका क्रियाकलाप गर्ने, संविधान, ऐन र अदालतको निर्णयलाई चुनौती दिँदै अनाहकमा प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने, संविधानद्वारा स्थापित लोकतान्त्रिक प्रणालीका विरुद्ध निरंकुश राजतन्त्रको पुनर्स्थापनाको हल्ला गर्ने आदिजस्ता काम नै प्रतिगामी तत्वले चलाइरहेका गतिविधि हुन् ।’

प्रचण्डले कम्युनिस्ट आन्दोलन र लाेकतान्त्रिक आन्दोलनका शक्तिले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने उल्लेख गरेका प्रचण्डले साम्राज्यवादी उत्पादनप्रणालीविरुद्ध समुदाय र राष्ट्रियताको हितमा प्रकृति र पर्यावरणको संरक्षण गर्ने मुद्दालाई विश्वव्यापी अभियानको नेतृत्व लिन जोड गर्नुपर्ने धारणा राखेका छन् ।