महीनावारी महिला (किशोरी) मा शारीरिक विकाससँगै हुने प्राकृतिक र स्वभाविक प्रक्रिया हो। यसलाई आफ्नो समाज, भूगोल पिच्छे फकर- फरक नामले बुझिन्छ । कतै महीनावारी, मिन्स, रजस्वला, भनिन्छ त कतै छाउ, पर सरेकी, नछुनी भएकी लगाएतका विभिन्न नामले चिनिन्छ । महीनावारी हुनु महिलाहरु प्रजनन् क्षमतामा परिपक्व र सक्षम हुँदै गएको भएकोे इंकित गर्ने सुनौलो उमेर भए पनि अझै समाजमा यसलाई स्वभाविक तवरले लिएको पाइदैन् । यसलाई सामाजिक, सांस्कृतिक,ऐतिहासिक र धार्मिक रूपमा समाजमा विद्यमान विभिन्न संस्कार र नीति नियमले महिलाहरुलाई विभेदको सिकार बनाएको पाइन्छ ।
महीनावारीको बेला जुनसुकै उमेर समुहका महिला भए पनि अन्य समय भन्दा त्यस बेला शारीरिक रुपमै केही असहज हुने गर्दछ । यो अवस्थामा समामजका अन्य विभेदले अझ असर पर्ने गर्दछ । विशेष गरेर विद्यालय तहका किशोरीहरुमा महिनावारीका समयमा समस्या चाङ अझ बढी हुने गरेको पाइन्छ । अंकुरण खबरका लागि शर्मिला विश्वकर्माले तयार पारेको सामाग्री…
महीनावारी हुँदा विद्यालय जानु सजाय पाए झै लाग्छ
काठमाण्डौंको जोरपाटीमा अवस्थित चामुण्डा माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यायनरत छात्रा निर्जला विश्वकर्मालाई प्रत्येक महिनाको ५/६ दिन असध्यै असहज हुन्छ । कारण निर्जलालाई महीनावारी भएको बेला विद्यालय जानु ठुलै सजायको सामाना गर्नुपरेझै लाग्छ । एक त रगत बग्ने, थकाई लाग्ने, पेट दुख्ने हुँदा शरीरिक रुपमै कमजोर महशुस हुन्छ भने मानसिक डरले उनलाई अझ भित्र भित्रै कपाउछ । भन्छिन् “पहिलो पटक महिनावारी हुँदा के भयो भनेर सारै डराए । महिनावारीका समयमा पछाडी लुगामा, बेन्चमा रगत लाग्छ की, प्याड लगाएको देखिन्छ की, अरुले थाँहा पाउछनकी भनेर लाज र डर लाग्छ । त्यस समयमा केटा साथीहरु, दाजु भाइ र शिक्षकहरुसँग बोल्न पनि अप्ठ्यारो हुन्छ । विद्यालय जाननपरे हुन्थो भन्ने लाग्छ ।”
त्यस्तै सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा आयुषा बराइलीको अनुभव भने अलि फरक छ । महीनावारीका बेला विभिन्न खालका विभेद भोग्नु पर्ने, कत्तिको छाउ गोठमा बस्दा ज्याननै गएका घटना सुन्नुपरे पनि आफुलाई भने यति धेरै असहज नभएको बताउछिन् । भनी भन्छिन् “ म ११ वर्षको हुँदा पहिलो पटक महीनावारी भए । महीनावारी हुनु अगाडि नै आमाले यस्तो यस्तो हुन्छ भनेर जानकारी दिनुभएको थियो । विद्यालयमा यसबारेमा पढेकाले स्वभाविक रुपमा लिए । तर पनि अलि-अलि लाज र डर भने चै हुँदो रहेछ ।”
महिनावारीका विषयमा केटीसाथीहरुले हामीसँग खुलेर कुरा गर्दैनन्, हामीले सहयोग ग¥यौं
सोही चामुण्डा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत छात्र सन्देश चौलागाईलाई घरमा आमा दिदीहरु महीनावारी हुँदा यस विषयमा भने केही जानकारी छ । तर विद्यलयमा महीनावारीका विषयमा केटी साथीहरुसँग खुलेर बोल्ने, व्यवस्थापनका विषयमा छलफल नगरेको उनी बताउँछन् । केटी साथिहरुले लाज लागेर कुरा नगरे पनि आफुहले उनीहरुलाई बाहिर रगत देखिए पनि नजिस्काउने, आवश्यक परे विद्यालयसंग प्याड मागेर लगिदिने गरेको बताउँछन् चौलागाई ।
त्यस्तै खगेन्द्र नवजीवन विशेष शिक्षा मा.वि.मा कक्षा ९ मा अध्ययनरत जाजरकोट घर भएका १८ वर्षका छात्र मिनराज बस्नेत महीनावारी भएका समयमा विशेष गरी विद्यालयमा केटी साथीहरुलाई हेयको भावले नहेरी सक्दो सहयोग गर्नु पर्ने बताउँछन् । सबैले सहयोगी भावना बनाए महीनावारीका बेला विद्यालय आउनेको संख्या कम नहुने र यो समस्याको विषय नबने उनको बुझाई छ ।
अपाङ्गता भएका छात्राको महीनावारी भोगाई, सानो कमजोरीले पनि निकै गाह्रो पार्छ
काठमाण्डौंको जोरपाटीमा रहेको खगेन्द्र नवजीवन विशेष शिक्षा मा.वि. अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने विशेष विद्यालय हो । यही विद्यालयको कक्षा १० मा अध्यनरत छात्रा पेमा गुरुङ्ग मेरुदण्डको पक्षघात भएकी अपाङ्ग विद्यार्थी हुन । उनको कम्मर भन्दा मुनीको भाग चल्दैन र ह्वीलचियरको सहयोगमा हिड्डुल गर्ने गर्छिन । हाल १८ वर्षकी पेमाको पहिलो महिनावारी १५ वर्षको उमेरमा भएको र ह्वीलचियर प्रयोगकर्ता भएको कारण महिनावारीका समयमा प्याडहरु प्रयोग गर्न कठिनाई हुने गरेको बताउछिन । “विद्यालयले प्याडको व्यवस्थापन गरेको भएता पनि नियमित हात धुनको लागि साबुन नहुदा आफैले घरबाट ल्याउनु परेको बताउछिन् । साथै प्रयोग भै सकेको प्याडहरु व्यवस्थापन गर्नको लागि पनि आफु अपाङ्गता भएकै कारण थप चुनौती हुने गरेको छ । यस विषयमा केटा साथीहरुसँग खुलेर कुरा गर्न पनि लाज लाग्छ । ”
महीनावारी भएका छात्राहरुमैत्री विद्यालय बनाउन सबै लाग्नु पर्छ
चामुण्डा माध्यमिक विद्यालयका प्रधानाध्यापक यादव प्रसाद पौडेल यस विद्यालयमा अध्ययनरत छात्राहरुको विद्यालयमा हुने महीनावारीको व्यवस्थापनका लागि विद्यालयले नै सेनेटरी प्याड उपलब्ध गराउदै आएको भन्छन् । साथै यसका लागि विगत २ वषै देखि रोजबैनी क्लब मार्फत १५ सदस्य समिति बनाएर किशोरीहरुलाई नै महीनावारीका समयमा के कस्तो समस्या हुन्छ ? यस्ता समस्याहरु न्यूनिकरणका लागि के गर्नु पर्दछ ? लगायतका सवालमा वकालत तथा पैरवी गर्न लगाउने गरिएको र यहाँ प्रयोग भएको प्याडहरुलाई आधुनिक मेशिनबाट व्यवस्थापन गर्ने गरिएको बताउछन् ।
खगेन्द्र नवजीवन विशेष शिक्षा मा.वि.का प्रधानाध्यापक राघव प्रसाद दवाडी पनि महीनावारी भएका विद्यार्थीको सहजतामा विद्यालयको ध्यान जानुपर्ने बताउछन् । उनले विद्यालयमा महिनावारीका समयमा छात्राहरुलाई शारीरिक वा मानसिक पीडा नहोस भनेर निःशुल्क प्याड उपलब्ध गराएको, प्रयोग भै सके पछिको व्यवस्थापन, सरसफाईका लागि पानी, अपाङ्गता मैत्री शौचालयको व्यवस्थापन गरिएको बताउछन् । सरसफाई तथा हात धुनका लागि शौचालयमा साबुनको व्यवस्था त छैन रे त ? भन्ने प्रश्नमा उनी भन्छन् अबका दिनमा हामी हाम्रो विद्यालयमा सबै विद्यार्थीहरुलाई सहज हुने गरी, उनीहरुको पहुँच पुग्न सक्ने गरी नियमित रुपमा सरसफाईका लागि अन्य सामाग्रीहरुका साथै साबुनको पनि व्यवस्था गर्ने छौ । आगामी दिनमा छात्राहरुलाई महिनावारी हुदा हुने कठिनाई अवस्थामा आराम गर्नको लागि आराम शैया सहितको आरम कोठा बनाउने, सबैलाई यस विषयमा जनचेतना जगाउने कार्यक्रमहरु पनि सञ्चालन गर्ने योजना गरेको उनले बताए । हरेक विद्यालयले यस्ता कुरामा ध्यान दिए महीनावारीका बेला छात्राले विद्यालय नछोड्ने र यसलाई सामान्य प्रक्रियाका रुपमा लिने वातवरण सृजना हुने उनको बुझाई छ ।
देवि आचार्य यही खगेन्द्र नवजीवन विशेष शिक्षा मा.वि.मा विज्ञान विषय पढाउने शिक्षिका हुन । उनले वि.स. २०६९ साल देखि त्यो विद्यालयमा पढाउने क्रममा महिनावारीका समयमा आफुले विद्यार्थी जीवनमा भोगेका कठिनाईहरु अहिलेका विद्यार्थीहरुले भोग्न नपरोस भनेर आफ्नै पहलमा सहयोगी संघ संस्थाहरु मार्फत प्याड उपलब्ध गराएर वितरण गरेकी थिइन ।
संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था गरिएको छ । जसमा विद्यार्थी मैत्री विद्यालय, शिक्षा हुनुपर्ने व्यवस्था छ । तर अधिकांश विद्यालयमा अहिले पनि महीनावारीका बेला छात्राहरुलाई सहज हुने खालको वातवरण छैन् । प्याड उपलब्धताको कुरा त परै जाओस् शौचालयमा पानीको व्यवस्था समेत नहुने, शिक्षकहरुबाटै विभेद गर्ने लगाएतका कुरा धेरै छन् जसले गर्दा विद्यालय उमेरका छात्राहरुलाई महिनावारी बेला पढाइमात असर गर्छ नै त्यस समयमा विद्यालय जानु ठुलै अपराधको सजाय पाएजस्तो भएको गुनासो धेरै सुनिन्छ ।
महीनावारीमा नियमित सरसफाई भएन भने विभिन्न रोगको संक्रमण हुने संभावना बढ्दछ । त्यसैले सरसफाईमा विशेष ध्यान दिनुपर्छ । महिनावारीका विषयमा स्वभाविक प्रक्रिया हो, अतिरञ्चित गर्दै विभेद गर्नुपर्ने कुनै कारण छैन् भनि सबैलाई जानकारी हुनु पर्दछ । साथै यस अवस्थामा विद्यालयहरुमा छात्राहरुले भोग्नु पर्ने समस्या र चुनौतीहरुको समाधान गर्दै देशै भरी छात्रामैत्री विद्यालय भनाए महीनावारीलाई स्वभाविक रुपमा लिने प्रथा त बस्छ नै, महीनावारीकै कारण ज्यान गुमाउने, पठन पाठनमा बाधा पुग्ने र यस विषयमा खुलेर बहस गर्न हिचकिचाउनु पर्ने अबस्था सधैका लागि हट्दछ ।