नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्रमा आज समूहगत निश्कर्ष सुनाइने भएको छ।
प्रज्ञा भवनमा चलिरहेको माओवादीको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। त्यसमा छलफल गर्न २५ वटा समूह बनाइएको थियो।
मंगलबार बिहानदेखि विभिन्न समूहले छलफल गरेका छन्। केही समूहमा छलफलमा सकिएको छ भने केहीमा बाँकी छ।
सबै समूहलाई आज दिउसो १२ बजेसम्म छलफल गर्ने समय दिइएको छ। त्यसपछि प्रत्यके समूहले प्रचण्डको प्रतिवेदनमाथि समूहमा भएको छलफलको निश्कर्ष सुनाउनेछन्।
आजै १ बजेदेखि समूहगत निश्कर्ष सुनाउन थालिने माओवादीले जनाएको छ। समूहका नेताले निश्कर्ष सुनाउने कार्यतालिका रहेको माओवादी नेता हरिबोल गजुरेलले बताए।
एउटा समूहलाई निश्कर्ष सुनाउन १५ मिनेट तोकिएको छ। त्यो समयमा छलफलको निश्कर्षसहित सुझाव राख्न सकिनेछ।
त्यस्तै, बन्दसत्रमा माओवादी नेता राम कार्कीले फरक मतसहित प्रतिवेदन पेश गरेका छन्। त्यसमा पनि समूहका नेताले बोल्न सक्नेछन्।