विदेशबाट कमाएर ल्याएको रेमिट्यान्स उत्पादन मुलुक क्षेत्रमा लगानी नगर्दा अहिले पनि धेरै युवा उमेर रहुन्जेल रोजगारीको लागि विभिन्न मुलुकमा भौँतारिन्छन् । वैदेशिक रोजगारीको कमाइ भइन्जेल फुर्मास गर्ने र पैसा सकिएपछि फेरि विदेशीभूमि चाहर्नेको संख्या कम हुन सकेको छैन । तर, इलामका केही युवा भने वैदेशिक रोजगारीबाट फर्किए पछी मुलुकमा नै स्वरोजगार बन्न थालेका छन् । यसै विषयमा इलामका केही युवाहरुसँग गरिएको कुराकानी :
यस्तै मध्येका एक हुन् इलाम माई नगरपालिका–८ का सविन राई । उनी सात वर्षको वैदेशिक रोजगारीबाट फर्किएर बंगुर पालनमा लागेका छन् । वैदेशिक रोजगारीको क्रममा बिरामी परेका राई बिदामा घर आएका थिए । विदेशबाट आउँदा उनले खासै पैसा ल्याउन सकेनन्, अलिअलि भएको पैसा पनि उपचारमा खर्च भयो । फेरि रोजगारीको लागि विदेशै जाने सोचमा रहेका उनले युवा सशक्तीकरण समूहमार्फत स्वरोजगारको लागि सीप विकास तालिम सञ्चालन हुन लागेको थाहा पाए । उद्यमशील विकास तालिममा सहभागी भए ।
उद्यमशीलता तालिममा सहभागी भएका राईले बंगुर पालनसम्बन्धी सीप विकास तालिम पनि लिए । सीप विकास तालिम पछी उनले व्यवसाय गर्नको लागि १२ हजार रुपैयाँ सहयोग पनि पाए । १२ हजार रुपैयाँमा दुई वटा बंगुरको पाठा किनेर व्यवसाय सुरु गरे । । त्यसमा इष्टमित्र आफन्तसँग केही रकम ऋण लिएर व्यवसाय बढाए ।
दुई वर्षअघि व्यवसाय सुरु गरेका राईसँग अहिले ३० वटा बंगुर छन् । उनी मुख्यतया बच्चा उत्पादनको लागि माऊ पाल्छन् । छिटपुट मासुको लागि समेत बंगुर पाल्छन् । लामो समय वैदेशिक रोजगारीमा भौँतारिएका राई अहिले गाउँर्मा स्वरोजगार भएका छन् ।
विदेशभन्दा गाउँमै बैगुर पालन गर्दा राईलाई आनन्द छ । ‘विदेशमा बिरामी हुँदा पनि बिदा नपाइने, दिएजति काम गर्नै पर्ने त्यो भन्दा त गाउँमा बंगुर पाल्दै आनन्द छ,’ राईले भने, ‘वर्षको ५–६ लाख रुपैयाँ कमाइ भइहाल्छ, आफ्नो काम गर्यो यही ठिक छ ।’
ताप्लेजुङ सिदिङवा गाउँपालिकाकी रञ्जना राईले अहिले इलामको माई नगरपालिका–९ चिसापानीमा बंगुर पालन गरेर बसेकी छिन् । जग्गा भाडामा लिएर उनले बंगुर पालन व्यवसाय थालेकी हुन् ।
रञ्जनाका श्रीमान दिलबहादुर राईले दुई पटक गरेर सात वर्ष वैदेशिक रोजगारीको लागि कतारमा बिताए । वैदेशिक रोजगारीमा राम्रो कमाइ नभए पछी दिलकुमार स्वदेश फर्किए । श्रीमान विदेशमा हुँदा घरायसी काममा नै समय बिताएकी रञ्जनाले पनि युवा सशक्तीकरण समूहमा आबद्ध भएर सीपमूलक तालिम पाएपछि बंगुर पालन सुरु गरेकी हुन् ।
सामाजिक रूपान्तरणको लागि युवा कार्यक्रममार्फत १२ हजार रुपैयाँ सहयोग पाएपछि रञ्जनाले बंगुर पालन सुरु गरिन् । त्यसमा वित्तीय संस्थाबाट तीन लाख ५० हजार रुपैयाँ ऋण लिएर उनले व्यवसाय बढाइन् ।
एक वर्षअघि व्यवसाय थालेकी रञ्जनाले १२ वटा बंगुर बेचि सकिन । त्यसबाट दुई लाख रुपैयाँ आम्दानी भएको उनले बताइन । बंगुर पालनबाट भएको आम्दानीले व्यवसाय गर्दा लिएको ऋण घटाउँदै छिन् ।
सुरुमा मासुको लागि बंगुर पाल्न थालेकी उनले अहिले बच्चा उत्पादनको लागि माऊ पाल्न थालेकी छिन् । ‘मासुभन्दा पाठाको बजार राम्रो रहेछ, त्यसैले अहिले माउ पाल्न थालेका हौ,’ रञ्जनाले भनिन्, ‘गर्न सक्दा बंगुर पालनबाट ठिकै आम्दानी हुँदो रहेछ ।’
सविन र दिलकुमार उदाहरण मात्रै हुन् । वैदेशिक रोजगारीबाट आए पछी मुलुकमा नै उद्यम गर्ने क्रम बढ्न थालेको छ । मानव अधिकार मञ्चले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई यही स्वरोजगार बन्नको लागि सीप विकास र सहयोग गर्दै आएको छ । सीप सिकेपछि युवाहरू स्वरोजगार बन्न थालेका हुन् ।
मञ्चले जर्मन सरकार र एडब्लुओको साझेदारीमा सामाजिक रूपान्तरणको लागि युवा कार्यक्रम सञ्चालन गरिरहेको छ । सुरुमा इलामको माई नगरपालिका र रोङ गाउँपालिकामा सञ्चालित कार्यक्रम अहिले माइजोगमाई र चुलाचुली गाउँपालिकामा समेत विस्तार गरिएको छ ।
तीन वर्ष देखि सञ्चालित कार्यक्रममा तीन सय ५६ जनाले सीप विकास तालिम लिएर उद्यम गरिरहेको कार्यक्रम संयोजक सन्तोष मगरले जानकारी दिए । कार्यक्रम अन्तर्गत ६ सय ६४ जनालाई उद्यमशीलता तालिम गराइएको थियो ।
सीप विकास तालिम लिएका मध्ये धेरै जनाले उद्यम गरिरहेको मगरले बताए । ‘तालिम लिएका मध्ये अधिकांशले तालिम अनुसारको व्यवसाय सञ्चालन गरिरहेका छन्,’ मगरले भने, ‘कसै कसैले मात्रै व्यवसाय गरेनन् ।’ मञ्चले सीप विकास तालिम गराएर व्यवसाय गर्न इच्छुकलाई पालिकाहरूले समेत सहयोग गरेको मानव अधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा बताउँछन् ।
‘इलामको माई नगरपालिकामा हामीले लिएको लक्ष्यभन्दा बढीले सीप विकास तालिम लिए, व्यवसाय गर्न चाहाने आधालाई हामीले सहयोग गर्यौ, आधालाई माई नगरपालिकाले सहयोग ग¥यो,’ कार्यकारी निर्देशक विश्वकर्माले भने, ‘त्यहाँ हाम्रो लक्ष्यभन्दा दोब्बरलाई सीप विकास तालिम र सहयोग मिलेको छ ।’
कार्यक्रमअन्तर्गत युवाहरूलाई वेमौसमी तरकारी खेती, बाख्रा बंगु्र, गाईभैसी पालनसम्बन्धी सीपपमुलक तालिम गराइन्छ । व्यवसाय गर्न चाहानेलाई युवालाई १२ हजार चार सय रुपैयाँ सहयोग उपलब्ध गराइन्छ ।
वैदेशिक रोजगारीबाट फर्किएका वा जाने सम्भावना भएका युवाहरूको सशक्तीकरण समूह गठन गरिन्छ । पालिका स्तरमा सशक्तीकरण समूहकै प्रतिनिधि रहेको युवा सशक्तीकरण सञ्जाल गठन हुने गरेको छ ।
सोही सञ्जाल र सशक्तीकरण समूहमार्फत युवाहरूलाई सीप सिकाएर उद्यम गर्न अभिप्रेरित गर्ने गरेको मानव अधिकार मञ्च इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले जानकारी दिए । उनीहरूले गाउँगाउँमा सुरक्षित आप्रवासन, मानव बेचबिखन र स्वरोजगार बन्नको लागि यु्वरामा सचेतना फैलाउँछन् । कतिपय ठाउँमा सशक्तीकरण समूहले सामाजिक कुरीतिविरुद्ध पनि काम गर्दै आएको विश्वकर्माले बताए ।