logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ताप्लेजुङमा चार दिन देखि हिउँमा फसेका बाबुछोरा सम्पर्क विहीन


अंकुरण खबर
988
Shares

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा चार दिन देखि हिउँमा फसेका बाबुछोरा अझै सम्पर्कमा आएका छैनन् ।

अल्टिच्युट एयर कम्पनीको हेलिकोप्टर उनीहरूलाई उद्धार गर्न गए पनि सम्पर्क विहीन भएसँगै उद्धार हुन नसकेको हो ।

शनिबार बिहान मिक्वाखोला गाउँपालिका–५ का वडाध्यक्ष डण्डु शेर्पालाई फोन मार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका थिए । सोही अनुसार बिहान ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकोप्टर गएको र दुई घण्डा होल्ड गर्दा पनि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

अन्दाजी ५०–५५ वर्षका लाक्पाटासी र उनहाका १४–१५ वर्षीय छोरा पासाङ शेर्पा हिउँमा फसेका हुन् । बाबुछोरा शुक्रबार मात्र टेलिफोन सम्पर्कमा आएको वडा अध्यक्ष शेर्पाले बताए । ‘चौंरीसँगै हिउँ पहिरोले बगायो तर ओडार भेटेर बसेका छौँ । हामी निस्कन नसक्ने भयौं ।’ भन्दै हेलिकोप्टरबाट निकालिदिन आग्रह गरेको शेर्पाले बताए ।

सम्पर्क विहीन भए पछि अहिले हेलिकोप्टर सुकेटार विमान स्थलमा होल्ड गरी राखिएको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए । पैदल र्माग मार्फत उद्धारको लागि जानेहरू पनि बाक्लो हिउँ जमेरका कारण आधा बाटोबाटै फर्केको शेर्पाले बताए ।