खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले तथ्यांक विश्लेषणमा एसपिएसएस सफ्टवेयर प्रयोगका विषयमा तीन दिने कार्यशाला गोष्ठी गरेको छ ।
समाजशास्त्र स्नातकोत्तर तह चौथो सेमेस्टरका विद्यार्थीका लागि अनुसन्धान व्यवस्थापन समितिको आयोजनामा तथ्यांक विश्लेषणमा एसपिएसएसको प्रयोग सम्बन्धी कार्यशाला सम्पन्न भएको हो ।
परिमाणात्मक अनुसन्धान ढाँचा, नमुना छनौट, तथ्यांकीय विधिहरूको छनौट तथा सफ्टवेयर प्रयोग गरी नतिजा विश्लेषण गर्ने सिकाइका लागि कार्यशाला आयोजना गरिएको अनुसन्धान व्यवस्थापन समिति दिक्तेल बहुमुखी क्याम्पसका सदस्य एवं सहायक क्याम्पस प्रमुख कृष्णबहादुर राईले बताए ।
शुक्रबारदेखि आइतबारसम्म सञ्चालन गरिएको कार्यशालामा एसपिएसएस सफ्टवेयर प्रयोग गरेर तथ्यांक व्यवस्थापन, तथ्यांक विश्लेषण, परिकल्पना परीक्षण, परिकल्पना परीक्षणका मान्यता, औसत भिन्नताको परीक्षण, अगणितीय परीक्षण विधिलगायतका बारेमा जानकारी दिइएको छ ।
कार्यशाला गोष्ठीमा नेपाल खुला विश्वविद्यालयका सहप्राध्यापक डा। जीवन खड्काले सफ्टवेयर प्रयोगका बारेमा सहजीकरण गरेका थिए । क्याम्पसकै हलमा आयोजना गरिएको कार्यशालामा समाजशास्त्र स्नातकोत्तर तह चौथो र तेस्रो सेमेस्टरलगायत २५ जनाको सहभागिता रहेको आयोजक अनुसन्धान व्यवस्थापन समितिले जनाएको छ ।
अनुसन्धानका क्रममा विद्यार्थीलाई सही तथ्यांकीय विधिको छनौट गर्नेदेखि एसपिएसएस सफ्टवेयरको प्रयोग गरी नतिजा पत्ता लगाउने र विश्लेषण गर्ने क्षमता विकासका लागि कार्यशाला आयोजना गरिएको हो ।
कम्प्युटर सफ्टवेयरको विकाससँगै परिमाणात्मक अनुसन्धानका क्रममा एसपिएसएसको अनिवार्य प्रयोग हुन थालेको नेपाल खुला विश्वविद्यालयका सहप्राध्यापक डा। खड्काले बताए ।