logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माघ दोस्रो हप्तादेखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने चेतावनी


अंकुरण खबर
598
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी माघ दोस्रो हप्तादेखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने चेतावनी दिएको छ ।

अर्को लहरमा देखापर्ने पूर्व संकेत देखिसकेकाले माघको दोस्रो सातापछि अर्को लहर आउने प्रक्षेपण गरिएको मन्त्रालयका एक अधिकारीले बताए । ‘मन्त्रालयले यस बिषयमा र्‍यापिड एक्सन प्लान तयार गरिरहेको पनि उनले बताए ।

कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै मन्त्रालयले स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरेको छ ।

हालसम्म नेपालमा तीन जनामा मात्र ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । तर आगामी माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्ने देखिएकाले सर्तकता अपनाउन आग्रह गरेको मन्त्रालय उच्च स्रोतले जनाएको छ । ‘

उनका अनुसार तेस्रो लहर आएमा दोस्रो लहर उच्च विन्दुमा पुगेको बेला भन्दा बढी संक्रमित हुन सक्छन् । दोस्रो लहरमा एकैदिन ९ हजार २ सय संक्रमित थपिएका थिए, जसका कारण अस्पतालहरुमा वेड र अक्सिजनसमेत अभाव भएको थियो ।

मन्त्रालयका अधिकारीहरुका अनुसार तेस्रो लहर आउनसक्ने केही पूर्वसंकेत देखिसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्ण पौडेलले पछिल्लो दिनमा नेपाल–भारतको प्रवेश विन्दुमा भेटिने संक्रमितको संख्या तुलनात्मक रुपले बढिरहेको बताए। सोही कारण मन्त्रालयले आइतबार परेको परिपत्रमा पनि सीमा नाकामा परीक्षणलाई तीव्र बनाउन आग्रह गरिएको उनले जानकारी दिए।