नेकपा माओवादी केन्द्रको पदाधिकारीको आज टुङ्गो लाग्ने भएको छ ।
पदाधिकारी चयनका लागि माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटी बैठक आज बस्दैछ । आठौँ महाधिवेशन सकिएलगत्तै पदाधिकारी चयनका लागि केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको हो ।
ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा दिउँसो ३ बजे बस्ने बैठकले पदाधिकारी चयन गर्ने माओवादीले जनाएको छ।
माओवादीमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने व्यवस्था छ। जसमा एकएक जना अध्यक्ष, महासचिव र कोषाध्यक्ष, एक वरिष्ठसहित सात उपाध्यक्ष, दुई उपमहासचिव र तीन सचिवको नाम बैठकले टुंग्याउनेछ।
यसअघि आइतबार अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको बन्दसत्रमा २३६ जनाको नाम केन्द्रीय सदस्यका लागि सिफारिस गरेका थिए। २९९ केन्द्रीय सदस्यमध्ये अहिले २३६ जनाको नाम टुंग्याइएको हो। केन्द्रीय सदस्यमा समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ गरी २३६ जनाको नाम टुंग्याइएको हो।
२९९ केन्द्रीय सदस्यमा समानुपातिकतर्फका १५४ मध्ये १२५ र खुलातर्फको १४५ मध्ये १११ जनाको नाम अहिले घोषणा भएको हो। समानुपातिकतर्फ २९ र खुलातर्फ ३४ जना केन्द्रीय सदस्य छनोट हुन बाँकी छ।