प्रत्येक वर्ष जनावरी ४ मा नेपालको साथै अन्तर्राष्ट्रिय स्तरमा ब्रेल दिवस मनाइन्छ । हरेक आविष्कार, पद्धति र विकासका पछाडि इतिहास लुकेको हुन्छ । भनिन्छ मानवजीवन एक श्रीङ्खलावद्ध इतिहास हो । मात्र मानिस भूतप्रभावी नभएर भविष्य प्रभावी हुन्छ र सदैव प्रगति यानि कि उभोतिरको यात्रा गरिरहन्छ । यहाँ इतिहासको प्रसङ्गलाई ब्रेल लिपीको आविष्कारसँग जोड्न खोजिएको हो । ब्रेल लिपी, जुन दृष्टिविहीन व्यक्तिका लागि पढ्ने लेख्ने पद्धति हो, जसको आविष्कार लुइस ब्रेलले गरेका हुन् ।
वास्तवमा ब्रेल लिपी अलिकति बाक्लो कागजमा कोठा भएको विशेष स्लेटमा राखी स्टाइलसले लेखिन्छ । यो तथ्याङ्कीयशास्त्रमा आधारित छ । जसको एक लहरमा १, २, ३ र अर्कोतर्फ ४, ५, ६ हुन्छ । यसलाई क्रमभङ्ग गरी १ ३ लाई क ४ ६ लाई ख गर्दै बनाइएको छ । औँलाहरुले स्पर्ष गरी पढ्न सकिने ब्रेलका थोप्लाहरु सिक्न र पढ्न सजिलै सकिन्छ । औँलाहरुको स्पर्षसँगै मस्तिष्क पनि एकिकृत हुने हुँदा निश्चय पनि ब्रेलका किताबहरु अध्ययन गर्दा एकाग्रता आवश्यक पर्छ नै । यीनै लुइस ब्रेलको जीवनिका साथमा नेपाली ब्रेल लिपीको विषयलाई पनि यहाँ केलाउने प्रयास गरिएको छ ।
लुइस ब्रेलको जन्म सन् १८०९ जनावरी ४ का दिन फ्रान्सको कुपब्रेमा एक दृष्टियुक्त बालकका रुपमा भएको हो । उनका पिता हार्नेसको छालाको सामग्री बनाउने कारखाना थियो । यो स्वभाविकै हो उनी पितासँग सो कारखानामा जाने गर्दथे । एकदिन उनी चक्कुसँग खेल्दै गर्दा त्यो चक्कु उनको हातबाट फुत्किएर आँखामा लाग्यो । तीन वरषका लुइसलाई के थाहा यही चोटका कारण इन्फेक्सन भइ उनको अर्को आँखा समेत बिग्रिन्छ भनेर । सानै उमेरमा दुबै आँखाको ज्योति गुमाउन पुगेका लुइसमा तिब्र सिक्न सक्ने क्षमता थियो । उनका बाबुआमा पनि उनले सिक्न सक्ने कुरामा निकै विश्वस्त थिए । त्यतिबेला दृष्टिविहीनका लागि कुनै शिक्षा लिने माध्यम नभए तापनि उनी परिवारको सहयोगमा गाउँ नजिकैको चर्चमा पढ्न जान थाले । तर त्यहाँ उनी सुनेर मात्र पढ्न सक्थे ।
करीब १० वर्षका हुँदा लुइसका पिताले फ्रान्सको पेरिसमा दृष्टिविहीनका लागि विशेष विद्यालय भएको कुरा तिनै पादरीबाट थाहा पाए र उनका अभिभावकहरुले आफ्नो कान्छा छोरा लुइसलाई भरना गरिदिए। त्यो नेस्नल इन्क्टिच्युट फर द ब्लाइण्ड विश्वकै दृष्टिविहीनहरुलाई शिक्षा दिने उद्देश्यले खोलिएको प्रथम विशेष विद्यालय थियो, जहाँ उनले शिक्षाकासाथमा व्यवसायिक सीप पनि सिक्नुपर्ने थियो । त्यस विद्यालयमा दृष्टिविहीनका लागि चित्रात्मक किताबहरु थिए । अर्थात दृष्टिविहीनले पढ्न सकोस् भनेर अक्षरहरुलाई रेज्ड गरी बाक्लो कागजमा बनाइएको थियो । जुन भद्दा र पढ्न पनि अप्ठ्यारो किसिमको हुन्थ्यो । बनाउन निकै कठीन भएकाले दृष्टिविहीनलाई साक्षर बनाउने उद्देश्यले त्यहाँ जम्मा १४ वटा किताबहरु मात्र बनाइएका थिए । तिब्र सिक्ने इच्छा भएका लुइसको पढाइप्रतिको प्यास ती किताबहरुले मेट्न सकेनन् । त्यस विद्यालयमा दृष्टिविहीनलाई पढाइमा भन्दा पनि सीपमा जोड दिइन्थ्यो र व्यवसायिक सीपहरु सिकाइन्थ्यो ।
हुनतः त्यतिबेलासम्म दृष्टिविहीनलाई उच्च शिक्षा प्रदान गर्न सकिन्न र यसको कुनै उपयोग पनि हुँदैन भन्ने सोच प्रायँ सबैमा थियो । एक दिन लुइसले एकजना सैनिक कप्तान चार्लस बार्बारिएरले उनका गुरुहरुसँग सैनिकहरुले प्रथम युद्धताका रात्री समयमा गोप्य सुचनाका लागि प्रयोग गरिएको संकेतहरुबारे जानकारी पाए । खासमा ती कप्तानले उक्त संकेतहरु दृष्टिविहीनका लागि उपयोगी हुन्छ भन्ने ठानी प्रयोग गर्न सुझाएका थिए ।
जब लुइसले त्यस संकेतका बारेमा सुने यसलाई अझ सोच्न र बुझ्न थाले । उनी ती संकेतहरु दृष्टिविहीनहरुका शिक्षाका लागि उपयोगी हुने कुरामा विश्वस्त हुँदै गए । त्यस विद्यालयमा भएका किलाकाँटी काठका सामान प्रयोग गरी कसरी त्यसलाई अक्षरहरुमा परीणत गर्ने भनी सोचिरहन थाले । वास्तवमा सैनिकहरुले सुचनाका लागि प्रयोग गर्ने ती थोप्लाहरु १२ वटा थिए । उनले यसलाई सानो र विभिन्न नम्बरमा परीणत गर्ने प्रयास गरे । फलतस् १७ वर्षकै उमेरमा अथक प्रयास गरी उनले ती थोप्लाहरुलाई आज दृष्टिविहीन व्यक्तिहरुले प्रयोग गर्ने छ थोप्लाको अक्षरमा परीणत गरे । उनले नै आविष्कार गरेको हुँदा उनको यस लिपीलाई ब्रेल लिपी भन्न थालियो । यो लिपी लेख्न र पढ्न सजिलो थियो ।
यस लिपीलाई त्यस विद्यालयमा अध्ययन गरिरहेका सबैले सिके र प्रयोग गर्न पनि सुरु गरे । यद्पी उनको जीवनकालमा यसले वैधता पाउन सकेन । एक दृष्टिविहीन व्यक्तिको आविष्कारलाई त्यो विद्वत समाजले उपहास गरिरह्यो । धेरे सोच्ने र मेहनत गरिरहने उनलाई २६ वर्षकै उमेरदेखि क्षयरोग लाग्यो । यसै रोगले उनलाई ४३ वर्षकै उमेरमा सन् १९५२ जनावरी ६ का दिन संसारबाट अलग गराइदियो । यसरी लुइसले दृष्टिविहीन व्यक्तिलाई शिक्षाको उज्यालो मार्गमा अगाडि बढाउन गरेको योगदान अतुलनीय छ । उनको मृत्यू पश्चात सन् १९५द्ध मा फ्रान्समा यसलाई मान्यता दिइयो भने सन् १८६८ मा मात्र ब्रेल लिपीलाई विश्वमा मान्यता दिने कार्यको थालनी भएको देखिन्छ । यो विवाद छैन कि लुइस ब्रेल लिपीका पिता हुन् र उनको जन्म जयन्तिको अवसरमा उनलाई संस्मरण गरी श्रद्धा सुमन अर्पिनु सबैको उनीप्रतिको सच्चा सम्मान हो ।
त्यही ब्रेल लिपी नेपालमा भित्र्याउने क्रममा स्व. जङ्गबहादुर बोगटीले गरेको प्रयास पनि उत्तिकै स्मरण योग्य छ । एक दृष्टिविहीन व्यक्ति बटुवाको कुरा सुनी बझाङबाट पैदलयात्रामा एक्लै भारत पुगेर अध्ययन गर्नु र नेपालमा दृष्टिविहीन व्यक्तिको शिक्षाका लागि तत्कालीन शासक राजा महेन्द्रसम्म पुग्नु निकै साहसी कार्य हो । त्यति मात्र होइन, जङ्गबहादुर बोगटीले आफू पढिरहेको विद्यालयमा राम्रो सहयोग नपाएपछि आफ्नो विद्यालय शिक्षा पूरा गर्न भारतका तत्कालीन शक्तिशाली प्रधान मन्त्री जवाहरलाल नेहरुसँग भेट गरेका थिए र उनले भारतमा शिक्षा लिइ नेपाली दृष्टिविहीनहरुलाई शिक्षा प्रदान गर्न विद्यालय खोल्ने आफ्नो उद्देश्य भएको बताएका थिए । उनै नेहरुको आदेश प्राप्त गरी उनले बाँकि शिक्षा पूरा गरेका थिए । उनको यही प्रयासको कारण नेपालमा विसं २०२१ बाट मात्र दृष्टिविहीनका लागि शिक्षाको सुरुवात कीर्तिपुर स्थित लेब्रेटरी माविबाट हुन पुग्यो । उनले आफ्नो जीवनकालभर त्यस विद्यालयमा ब्रेल र विभिन्न सीप सिकाइ नै रहे । तर नेपालमा उनको कार्यको कदर गरी कुनै काम गर्न सकिएको छैन । इतिहासलाई जोगाएर अघि बढ्ने हाम्रो बानीलाई सत्य सावित गर्न पनि नेपाली ब्रेलका सुरुवातकर्ता बोगटीलाई सम्झनु सान्दर्भिक र न्यायोचित हुन्छ । उनले भारतमा सिकेको हिन्दी ब्रेललाई केही मात्रामा परिवर्तन गरी नेपाली अक्षरहरु समेत बनाएका थिए । उनको त्यो साहस र इच्छा शक्तिलाई सलाम गर्दै उनको योगदानको पनि यही लुइस ब्रेल जयन्तिमा स्मरण गर्दा शायद नेपाली शिर उच्च हुनुपर्छ नै ।
समयको कालखण्डसँगै ब्रेल लिपिलाई प्रयोग गर्न केकसरी सहज हुन्छ भन्ने दिशामा थप आविष्कार र पद्धतिहरुको विकास भएको छ । क्प्युटरको प्रयोगसँगै यी आविष्कारहरुमा पनि नवीन प्रयोग र खोज भएको देखिन्छ । जज् सफ्टवेरको विकासले दृष्टिविहीनहरुलाई कम्प्युटरको प्रयोग गर्न सक्ने बनायो । डेजी सफ्टवेयरले किताबहरुलाई कम्प्यूटरमा रेकर्ड गरी सुनेर पढ्ने पद्धतिको विकास गर्यो ।
आज विश्वभर दृष्टिविहीनलाई पढ्न सहज बनाउने हिसाबले ब्रेल डिस्प्ले नोट टेकर नामका विभिन्न आकार र साइजका प्रविधि पनि प्रयोगमा आइसकेका छन् । तर पैसाका हिसाबले सबै महंगा एकातिर छन् भने अर्कोतिर त्यसमा गरिएको नोट मेशिन बिग्रियो भने सबै नष्ट पनि हुन्छन् । हुनत मोबाएलमा एन्ड्रोवाइड सफ्टवेयर मार्फत पढ्न सक्ने बनाउनुले दृष्टिविहीन व्यक्तिले ज्ञान लिने माध्यमहरुको बृद्धि हुनु सकारात्मक र उत्साहप्रद कार्य हो । तर ब्रेल लिपी राम्ररी नसिक्दा भने उनीहरुको लेखाइमा शुद्धता हुन सकेको छैन । पढाइ र लेखाइ सँसँगै लैजान ब्रेल लिपीको बिस्तार र प्रयोगमा सबैले ध्यान दिनु जरुरी हुन्छ । ब्रेल लिपीबाट हातले स्पर्ष गर्दै एक दृष्टियुक्त व्क्तिले जै पढ्न सकिने हुँदा हाम्रो वाचन शक्ति पनि बढ्देजान्छ । आफ्ना रचनाहरु गरेर एक दृष्टियुक्त व्यक्तिले झै अभिव्यक्त गर्न यो छापा अक्षर जतिकै उपयोगी छ । ब्रेल लिपी र प्रविधिलाई सँसँगै लैजान सकेमा दृष्टिविहीनहरुको जीवनलाई अझ प्रतिस्पर्धी र समाजका निम्ति स्विकारयोग्य बनाउन सकिन्छ ।
अन्तमा ब्रेल लिपी र प्रविधिको विषयमा चर्चा गरिरहदा नेपालमा वर्तमान अवस्थालाई पनि सिंहावलोकन गर्नु सान्दर्भिक हुन्छ । नेपालको संविधानको मौलिक हकमा नै दृष्टिविहीनहरुलाई ब्रेल लिपीमा शिक्षा प्रदान गर्ने विषय शिक्षाको हकमा नै सुनिश्चित गरिएको पनि छ । विद्यालय तहमा अध्ययन गरिरहेका दृष्टिविहीन व्यक्तिहरुले विगतभन्दा हालका दिनमा ब्रेल लिपीका पुस्तकहरु अध्ययन गर्ने अवसर प्राप्त गरेको देखिन्छ । शिक्षा विभागले ब्रेल लिपी अध्ययन गराउन आवश्यक मात्रामा विद्यालयहरु खोल्ने र दृष्टिविहीन विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने काम भइरहेको छ । नेपालमा हाल प्रयोगमा रहेको विशेष शिक्षा र एकिकृत शिक्षा प्रणालिलाई समावेशी शिक्षामा रुपान्तरण गर्न विभिन्न स्थान र तप्काबाट प्रयास भइरहेको छ । यसकै परीणामस्वरुप आज ८० वटा श्रोत कक्षाहरु सञ्चालनमा छन् ।
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर र एक वर्षे स्नातक तहमा विशेष शिक्षाको अध्यापन सुरु गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्य पनि भएको छ । यद्पी आज पनि अधिकांश दृष्टिविहीनहरुले ब्रेल लिपी सिक्ने मौका पाएका छैनन् । समयमै विद्यालयमा पुस्तक नपुग्ने समस्या पनि यथावतै छ ।
आजका दिनसम्म पनि ब्रेल लिपी लेख्नका लागि अत्यावश्यक सामग्री स्लेट र स्टाइलसको समेत यहाँ उत्पादन गर्न सकिएको देखिदैन । प्रविधिलाई प्रयोगमा ल्याउन थालिए पनि नेपाली भाषामा नै सहज रुपमा काम गर्न सकिने प्रविधिलाई ग्रहण गर्न सकिएको छैन । नेपाली दृष्टिविहीनका लागि स्व. हिम गौतमद्वारा विकास गरिएको दृष्टिवाचक सफ्टवेयर पनि उनको असमायिक नीदनका कारण परिस्कृत हुन सकेको छैन । नीतिलाई पछ्याउँदै दृष्टिविहीनहरुको शिक्षामा अझ पहुँच अभिबृद्धि गर्न ब्रेल लिपिको प्रवर्धन र प्रविधिको प्रयोगलाई साथसाथै लैजान ढिला भइसकेको छ । तसर्थ लुइस ब्रेलको योगदानलाई स्मरण गर्ने क्रममा नेपाल सरकार र संवद्ध सबैले ब्रेल लिपीको पूर्ण प्रयोग र प्रविधिको विकासमा ध्यान दिनु जरुरी छ । ब्रेल लिपी लेख्नका लागि प्रयोग गरिने स्लेट र स्टाइलसको स्वदेशमा उत्पादन र समावेशी शिक्षाको जग बलियो बनाउने दिशामा अझ बढी लगानी, सचेतना र प्रतिवद्धताको खाँचो छ ।