नेकपा एकीकृत माओवादीका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहालले देश र जनताको आवश्यकता अनुसार आफू पुन : पार्टी अध्यक्षमा निर्वाचित भएको बताएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि सोमबार सम्बोधन गर्दै उनले आफूलाई फेरि पनि सक्रिय नेतृत्वमा रहनुपर्दा भिन्न भूमिकामा जानुपर्ने बेला आएन र ? भन्ने सोचाइ आए पनि देशको समग्र परिस्थिति तथा पार्टी रुपान्तरणको आवश्यकतालाई मध्यनजर गर्दै पुन : नेतृत्वमा आएको बताएका हुन् । उनले आज आफूले पाएको अभिभाराले पुनस् ठूलो सेवा गर्ने अवसर प्राप्त भएको बताए ।
माओवादी एउटा क्रान्तिकारी आन्दोलन र विचार भएको प्रचण्डको दाबी छ । माओवादीले इतिहासमा युगान्तकारी परिवर्तनको आधारशिला खडा गरेको बताएका थिए । उनले अब प्रचण्ड नहुँदैमा माओवादी नसकिने भए पनि देशलाई आफ्नो आवश्यकता रहेकाले पुन सक्रिय राजनीतिमा आउन चाहेको धारणा राखेका थिए ।
उनले आफूलाई पार्टी पंक्ति र नेपाली जनताले ठूलो जिम्मेवारी दिएको पनि बताए । ‘यो नेपाली कम्युनिस्ट आन्दोलनको विशेष परिस्थिति हो । म धेरै अघिदेखि नेतृत्वमा छु । धेरै घटनाहरुको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ,’ उनले भने ।
दाहालले महाधिवेशन विचारमा आधारित भएर बहसमा केन्द्रित भएर सकिएको बताएका छन् महाधिवेशनले जनताको अधिकार र देशको समृद्धिका बारेमा बहस गरेको उनको दाबी छ ।