logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्लाको ढ्याम बस्ती पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा


अंकुरण खबर
1.04K
Shares

जुम्ला जिल्लामा रहेको एक नगरपालिका र सात गाउँपालिकामा रहेका सयौं बस्तीहरू मध्ये कनका सुन्दरी गाउँपालिकाको वडा नम्बर ३ मा रहेको ढ्याम बस्ती पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ ।

ढ्याम बस्तीका १५ घरधुरीका ८० जना मानिसहरू विगत दुई दशकदेखि कुवा र नाउलाको पानी उपभोग गर्दे आइरहेका थिए । कनका सुन्दरी गाउँपालिका वडा नम्बर ३ को २ लाख र युनिसेफ नेपालको ४ लाख ३९ हजार ५ सय गरी जम्मा ६ लाख ३९ हजार ५ सय बजेटले १५ घर र एक ईसिडि विद्यालयमा प्रति घर एक र एक सुरक्षित घरको आँगनमा खानेपानीको धारा बनेको बताइएको छ ।

एक कार्यक्रमका बीच उक्त समुदायलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको कनका सुन्दरी गाउँपालिकामा कार्यरत युनिसेफ नेपालका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम संयोजक मुकुन्द रावलले बताए ।

दुई दशक पहिलेदेखि नाउला खोलाको दूषित खानेपानी खाँदै आएका स्थानीय घरघरमा खानेपानी पुगेपछि खुसी भएका छन् । खानेपानी घर(घरमा पाउँदा निकै खुसी भएको कनका सुन्दरी गाउँपालिका(३ ढ्याम गाउँका नन्दराम बुढाले बताए ।

कनका सुन्दरी गाउँपालिका भित्र रहेका धेरै बस्तीहरू एक घर एक धारा निर्माण गरिएका छन् । अन्य बस्तीमा पनि धारा निर्माण गरिने भएको छ ।

पानीको परीक्षण गर्दा खानेपानी सुदृढ भएको हुँदा ढ्याम बस्ती सुरक्षित खानेपानी बस्ती घोषणा गरिएको कनका सुन्दरी गाउँपालिकाका अध्यक्ष नरवीर रावतले बताए ।