अन्तर्वार्तास्वास्थ्य

रगत दिने व्यक्ति फ्याक्ट्री र रगत औषधी हो भन्दछन् : प्रेमसागर कर्माचार्य

रगतदान गर्नु रगतको अभावमा जीवन मृत्युसँग छट्पटाई रहेको व्यक्तिलाई नयाँ जीवन दिनु हो । यस्तो महान काम एक स्वस्थ व्यक्तिहले मात्र गर्न सक्दछ । हुन त पछिल्लो चरणमा विभिन्न संघ संस्थाहरु मार्फत रक्तदान कार्यक्रमका अभियानहरु चलाउने गरिएको छ । कतिपय अवस्थामा एकै जना व्यक्तिले पनि धेरै पटक रगत दान गरेर जीवन र मृत्युसँग संघर्ष गरेका व्यक्तिहरुलाई नयाँ जीवन दिने र समाजमा रक्तदान गर्नु पर्दछ भनेर जनचेतना जगाउने तथा व्यक्तिहरुलाई उत्प्रेरणा दिने महान व्यक्तिहरु पनि हाम्रो समाजमा छन् ।

यस्ता व्यक्तिहरु मध्ये एक हुन् प्रेमसागर कर्मचार्य । जो नेपाल स्यमसेवी रक्तदाता समाजको अध्यक्ष पनि हुन् । उनले नेपालमा सबै भन्दा धेरै पटक अर्थात अहिलेसम्म १६८ औँ पटक रक्तदान गरिसकेका छन् । रक्तदान किन आवश्यक छ ?, कस्ता व्यक्तिहरुले रक्तदान गर्न सक्छन ? संघ संस्था मार्फत रक्तदानका सवालमा के कस्ता कामहरु भएको छ ? रक्तदानका लागि सरोकारवाला निकायको भूमिका कस्तो रहेको छ लगायतका सवालमा उनै व्यक्ति प्रेमसागर कर्माचार्यसँग हाम्रो अंकुरण खबरका लागि शर्मिला विश्वकर्माले गरेको कुराकानीको संक्षिप्त अंश ।

तपाईले अहिले सम्म १६८ औं पटक रक्तदान गरि सक्नु भएको छ । रक्तदान गर्नु पर्दछ भन्ने प्रेरणा तपाईलाई कोबाट प्राप्त भयो ?

म काठमाडौंको मनमैजुमा जन्मेको र हाम्रो परिवार वि.स. २०२८ मा बागबजारमा सरुवा भएको हो । त्यो समयमा बागबजार र टुलीखेल वरपर खेतीपाति हुन्थ्यो । खेतबारीमा काम गर्ने दाजुभाइ दिदीबहीनलाई काम गर्ने क्रममा चोट लागेर रगत बग्दा मेरो बुवाले घरेलु उपचार गरेर ठिक बनाउनु हुन्थो । यस्तो देख्दा मलाई मिल्ने भए मेरै रगत दिन पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । त्यसै गरी अहिलेको ट्रमा सेन्टर भएको ठाँउमा भरिया दाजुभाईहरुले आफ्नो रगत आवश्यक परेकालाई बेचेर आफ्नो गुजरा चलाउने गर्थे । उनीहरुले जति बेला आफुलाई पैसाको आवश्यक प¥यो त्यती बेला रगत बेच्दा कमजोर हुने हुन्थे अनि यो रगत त दान गर्न मिल्दो रैछ म पनि रगत दान गर्दछु भनेर मेरो बुवा र ती गरिब भरिया दाजुभाइहरुबाट प्रभावित भएर रक्तदान गर्ने प्रेरणा मिलेको हो ।

पहिलो रक्तदान तपाईले कहिले गर्नु भयो ?

ती भरिया दाजु भाईहरुले रगत बेचेको देखेपछि मैले उनीहरुको रगत तान्ने प्राविधिक बासुदेव पौडेल शर्मा हुनु हुन्थ्यो । उहाँसँग मेरो चिनजान पनि थियो अनि मैले उहाँसँग म पनि रक्तदान गर्दछु नी भने पछि उहाँले हुन्छ भनेर मेरो स्वास्थ्य अवस्था जाँच गर्नु भयो र मैले आज भन्दा ४२ वर्ष पहिला म त्यो समयमा १६ को हुदा पहिलो पटक रक्तदान गरेको हुँ । त्यस पछि मैले अहिले सम्म ३-३ महिनामा रक्तदान गर्दै आएको छु । अहिले सम्म मैले नेपालका विभिन्न जिल्लाहरुमा गरेर १६८ पटक रक्तदान गरि सके । अहिले सम्म मैले करिब ३० वटा जिल्लाहरुमा गएर रक्तदान गरेको छु र व्यक्तिहरुलाई पनि प्रेरित गर्ने गरेको छ ।

कस्ता कस्ता व्यक्तिहरुले रक्तदान गर्न सक्छन् ?

एक स्वस्थ व्यक्तिले ३-३ महिनामा रक्तदान गर्न सक्छ । तर रक्तदान गर्ने व्यक्तिले मध्यपान, धु्रममान, लागुपदार्थ लगायतका चिजहरु सेवन गर्न हुदैन । साथै कुनै पनि रोगलागेका व्यक्तिहरुले पनि रक्तदान गर्न सक्दैनन् । त्यसै गरी महिलाहरुको सवालमा महिनावारी भएको ९ दिन पछाडी रक्तदान गर्न सक्छन् भने गर्भवती महिलाहरुले पनि रक्तदान गर्न मिल्दैन ।

अधिकांश व्यक्तिहरु त नियमित रुपमा रक्तदान गर्दा कमजोरी भइन्छ भन्छन् नी यो कत्तिको सत्य हो ?

नियमित रुपमा रक्तदान गर्दा कुनै पनि कमजोरी हुदैनन् । प्रत्येक महिलाहरुमा प्रति के.जी.मा रगतको मात्रा ६६ एम. एल. र पूरुषरुमा प्रति केजी ७६ एम.एल रगतको मात्रा हुन्छ भनेर विज्ञानले प्रमाणीत गरेको छ । हामीलाई दैनिक रुपमा कार्य सम्पादनको लागि आवश्यक पर्ने रगतको मात्रा भनेको ५० एम.एल. हो । त्यो भन्दा बढि एम.एल. रगत त बाँकी हुन्छ । त्यसैले यो बाँकी रगत दान गरियो भने अर्को व्यक्तिको ज्यान बच्छ । रगत निकाल्ने क्रममा मानिसहरु सिरिन्ज देखेर घोच्छ भनेर डाउनु स्वभाविक हो तर पनि केही हुदैन ।

तपाईं अध्यक्ष रहनु भएको नेपाल स्यम्सेवी रक्तदाता समाजमार्फत कति जिल्लामा रक्तदानका कार्यक्रमहरु सञ्चालन गर्नु भएको छ ?

यो संस्था मार्फत हामीले अहिले सम्म ३३ जिल्लाहरुमा स्थानीय नगरकमिटी, वडा कमिटी बनाएर “रक्तदान व्यवस्थापनमा सबैको सहभागिता” भन्ने नाराका साथ रक्तदान अभियानमा लागि परेका छौ । व्यक्तिहरुलाई रगत दान गर्नु पर्दछ भनेर प्रेरित गर्ने, यस विषयमा जनचेतना जगाउने काम पनि तिब्र रुपमा भईरहेको छ । रगत दिने व्यक्ति फ्याक्ट्री र रगत औषधी हो । हामी रगत दिने र रगत लिने व्यक्तिमा विभेद हुन हुदैन ।

नेपालमा कति वर्ष उमेरका व्यक्तिहरुले रक्तदान गर्न सक्ने प्रावधान रहेको छ ?

नेपालमा स्वस्थ व्यक्ति १८ वर्ष उमेर देखि ६५ वर्ष उमेरका र ४५ के.जी. सम्ममा व्यक्तिहरुले नियमित रुपमा ३÷३ महिनामा रक्तदान गर्न सक्छन् । तर मेरो विचारमा स्वस्थ व्यक्तिले ६५ वर्ष उमेरलाई हटाएर जति उमेर सम्म रगत दिन सक्ने व्यवस्था गर्दा राम्रो हुन्छ ।

सम्बन्धित निकायले रक्तदान गर्न तथा रगत संकलन गर्न कत्तिको ध्यान दिएको छ जस्तो लाग्छ ?

रगत संकलन तथा रक्तदान गर्नको लागि सम्बन्धित निकायले त्यती ध्यान दिएको पाइदैन । यस विषयमा राज्य स्तरबाट नै मानिसहरुलाई उत्प्रेरित गर्न, रगत संकलन गर्न, भएको रगतको व्यवस्थापन गर्नको लागि विशेष ध्यान दिनु पर्ने हो त्यता तिर राज्य स्तरबाट ध्यान दिएको पाइदैन । राज्यले  युवाहरुलाई रक्तदानका लागि प्रेरित गर्न जरुरी छ । यस विषयमा जनचेतना मुलक कार्यक्रमहरु ल्याउनु पर्दछ ।

सबैले रक्तदान गरुन भन्नको लागि सबै नागकिहरुलाई हजुर के भन्न चाहनु हुन्छ ?

रक्तदान गर्ने र रगतदान गर्न डराउनेको लागि आर्थिक, भौतिक, नैतिक रुपमा हामी सबैले सहयोग गर्नु पर्दछ । उनीहरुको हौसला बढाउनु पर्दछ । रक्तदान गरि सकेका व्यक्तिहरुले प्रत्येक ३-३ महिनामा नियमित रुपमा रक्तदान गर्नु होला । साथै अहिले सम्म रक्तदान नगरेका १८ वर्ष उमेर पुगेका युवा युवतीहरुले आफ्नो जन्म दिन रक्तदान कार्यक्रम गरेर मनाउनु हुनको लागि आनुरोध गर्दछु । रक्तदान गरे पछि विरामी भइन्छ, कमजोर भइन्छ भन्ने भ्रमललाई त्याग्नु होला । हामी तपाईहरुलाई सहयोग गर्न तयार छौ । रक्तदान नै जीवन दान हो त्यसैले मानिसलाई जीवन दान दिनको लागि सबै आ–आफ्नो स्थानबाट सहभागि हुनु होला । सबैले आफुले पनि रक्तदान गरेर अनुभव लिनु होस र आफुले लिएको अनुभव अरुलाई बाढ्नु होस् ।

Comment here