logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकै दिन ओलीको तीन सम्बोधन – चुनाव पछि एमालेले बहुमतको सरकार बनाउने


अंकुरण खबर
624
Shares

नेकपा एमालेको शुक्रबारबाट जिल्ला अधिवेशन सुरु भएको छ ।

शुक्रबार दिउँसो संयुक्त रुपमा भर्चुअल मार्फत जिल्ला अधिवेशनको उद्घाटन गरेका अध्यक्ष केपी शर्मा ओलीले त्यस पछि काठमाडौं र काभ्रेको अधिवेशन उद्घाटन गर्न पुगे ।

करिब चार घण्टामा तीनवटा कार्यक्रममा सम्बोधन गर्दै ओलीले कानुन र विधि विपरीत एमालेको सरकार ढालेको र पार्टी फुटाएको आरोप लगाए ।

सत्तारुढ गठबन्धन र गठबन्धनको सरकारलाई प्रतिगामीको संज्ञा दिँदै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउने दाबी गरे ।

तीनवटै सम्बोधनमा एउटै भाषण गरेका ओलीले आफूहरूसँग जनताको साथ रहेकाले आगामी निर्वाचन मार्फत पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताए ।

‘हामीलाई जनताको कवच प्राप्त छ’, उनले भने, ‘हामी चुनावको प्रतिक्षामा छौँ । त्यस पछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ ।’

आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको उनको भनाइ छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको सरकारको संज्ञा दिँदै उनले पाँचमुख भएका सरकारले तुइन काटेर जनतालाई नदी खसाल्दा पनि बोल्न नसकेको आरोप लगाए ।

राज्यका सबै अंग आ–आफ्नो मर्यादामा बस्नु पर्नेमा जोड दिँदै उनले सरकार जनताको पक्षमा नरहेको बताए । जनताको आदेशविना अन्यत्रबाट सरकार बनेको भन्दै ओलीले भने, ‘सरकार बन्यो संसदले समेत पनि थाहा पाएन ।’

सरकार गठन सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेशप्रति उनले खरो टिप्पणी गरे । आफ्नो पार्टीको हालै सम्पन्न १० औँ अधिवेशनको अध्ययन विना नै टिकाटिप्पणी भइरहेको बताएका ओलीले  अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययन विना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताएका हुन् ।

एमाले विरुद्ध हल्ला फिँजाइएको भन्दै उनले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गरे । गठबन्धन र नेकपा (एकीकृत समाजवादी) प्रति खरो टिप्पणी गरेका ओलीले गठबन्धनललाई प्रतिमगनको संज्ञा दिए ।

एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गरेका उनले एकातिर अरु पार्टी र अर्कोतिर एमाले राख्दा पनि एमाले पनि शक्तिशाली रहेको बताए ।