logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली भेट्न प्रधानमन्त्री देउवा बालकोटमा, संसदको गतिरोध र एमसीसीबारे छलफल


अंकुरण खबर
754
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोट स्थित ओली निवास पुगेका थिए ।

भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध गरेको बताए ।

भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका छन् ।

एमालेले कारवाही गरेका माधव नेपाल सहित १४ संसदको कारवाही रोकेर अवैध रुपमा दल (नेकपा एस) दर्ता गरिएको प्रतिपक्षीले लगातार संसद अवरुद्ध गर्दै आएको छ । माधव नेपालको कारवाही वैध हुनुपर्ने, सांसदको हैसियतमा संसदमा उपस्थित गराउन नहुने र कारवाही रोक्ने सभामुख अग्नि सापकोटाले राजीनामा दिनु पर्ने एमालेको माग छ ।

एमालेसँग सम्वाद गर्न यसअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाए पनि माधव नेपाल सहभागी भएका कारण एमाले सहभागी भएन । त्यसैगरी समाभुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको छैन ।

सहमतिको निरन्तर प्रयास गर्दा पनि एमालेले अवरोध कायमै राखे पछि सत्ता गठबन्धनले सम्वाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ । जस अन्तर्गत देउवा बालकोटा पुगेका हुन् ।