logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विद्यालय व्यवस्थापन समिति अध्यक्षको मनोमानी : आफैंलाई २० लाख दिने निर्णय


अंकुरण खबर
975
Shares

तिला गाउँपालिका–३ जुम्लास्थित सरस्वती प्राविधिक माध्यमिक विद्यालयका व्यवस्थापन समिति (विव्यस) का अध्यक्ष दल गिरीले आफैले गरेको निर्णय विपरित काम गरेका छन् ।

गिरीको अध्यक्षतामा २७ माघ ०७६ मा बसेको बैठकले कृषि बाली विज्ञान कक्षा सञ्चालनको लागि आएको सशर्त अनुदान रकमबाट कृषि ल्याबमा आवश्यक सामग्री खरिद गर्न दरभाउ पत्र माग गर्ने निर्णय गरेको थियो ।

विद्यालयले दरभाउ पत्र मागे अनुसार सुभद्रादेवी डिस्ट्रिब्युटर, सुर्खेत, ग्यालेक्सी साइन्टिफिक ट्रेड काठमाडौं र ग्लोबल साइन्टिफिक कर्पोरेसन, बाँकेले सिलबन्दी सहित दर्ता गरेका थिए । त्यस मध्ये न्यूनतम मूल्यमा सामान उपलब्ध गर्ने ग्लोबल साइन्टिफिक कर्पोरेसन, नेपालगञ्जलाई सामान खरिदका लागि आदेश दिने निर्णय भएको थियो ।

२८ माघ २०७६ मा अध्यक्ष गिरीकै अध्यक्षतामा बसेको बैठकले ग्लोबल साइन्टिफिक कर्पोरेसन, बाँकेलाई सामान खरिद गर्न पेश्की आदेश नदिई आफ्नै नाममा सामान खरिद गर्न २० लाख रुपैयाँ पेश्की स्वरुप दिने निर्णय गरेको माइन्युट फेला परेको छ  ।

माइन्युट भनिएको छ, ‘सरस्वती माविको (कक्षा ९ देखि १२) कृषि बाली विज्ञान लागि आवश्यक पर्ने कृषि ल्याब समान खरिद गर्न यसै विद्यालयका अध्यक्ष दल गिरीलाई नेपाल सरकार, शिक्षा विभाग, मानव स्रोत विकास केन्द्र, तिला गाउँपालिका मार्फत नबिल बैंक लिमिटेडमा रहेको विद्यालयको ७२०१०१७५०००३० नम्बर खातामा आएको सशर्त अनुदान २६ लाखबाट पहिलो पटकका लागि पेश्की स्वरुप २० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ ।’

अध्यक्ष गिरीको नाममा दिएको पेश्की रकमको बिल भरपाईको आधारमा पूर्ण भुक्तानी दिने निर्णय समेत गरिएको छ । एक दिन अघि ग्लोबल साइन्टिफिक कर्पोरेसन, बाँकेलाई सामान खरिद गर्न आदेश दिने निर्णय गरेको विव्यासको भालि पल्टै अध्यक्षलाई सामान खरिदमा २० लाख पेश्की दिने निर्णय आफैमा कपटपूर्ण रहेको स्रोतको दाबी छ । यस विषयमा स्थानीय सरकार तथा सरोकारवाला निकायले सामान्य अनुगमन समेत गरेका छैनन् ।

विद्यालयका प्रधानाध्यापक रामविलास यादवले भने कृषि ल्याब सामग्री खरिद गर्न अध्यक्ष गिरीलाई पेश्की रकम दिने गरी भएको निर्णय बारेमा थाहा नभएको बताए । उनले भने उक्त सामग्री ग्लोबल साइन्टिफिक कर्पोरेसन, बाँकेलाई दिएको र उसकै नाममा चेक काटिएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरीले भने कानुनी कुरा आफूलाई थाहा नभएको र विद्यालयका प्रधानाध्यापक रामविलास यादवकै सुझाव अनुसार उक्त निर्णय भएको बताए । उनले भने, ‘ग्लोबल साइन्टिफिक कर्पोरेसन, बाँकेले उक्त रकम आफ्नो खातामा राख्न नपाइने बताए पछि आफ्नो नाममा पेश्की लिने निर्णय भएको हो । के गर्न मिल्छ मिल्दैन त्यो त थाहा भएन । प्रधानाध्यापक यादव नै यसबारेमा जानुन् ।’

लेखापालको तलब ११७ प्रतशितले वृद्धि

अध्यक्ष गिरीले त्यति मात्र गरेका छैनन् । विद्यालयका लेखापाल भनेर राखिएको कर्मचारी शान्तिनाथ योगीले खाइपाई आएको ११ हजार पाँच सय तलबमा १३ हजार पाँच वृद्धि गरी २५ हजार पुराइदिएका छन् ।

लेखपालले खाइपाई आएको तलबमानमा अध्यक्ष गिरी सहित विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको मिलेमोतोमा एक सय १७ प्रतिशत तलब वृद्धि गरेको हो ।

विद्यालयका अन्य करार कर्मचारीले तलब वृद्धि गराउन अनुरोध गरे पनि अध्यक्ष गिरीले तलब नबढाएको एक कर्मचारीले गुनासो गरे । हामी पहुँच नभएका कर्मचारीलाई कसैले सहयोग गर्दैनन् रु उनले भने, सकेसम्म विव्यसले हामीलाई थाहा दिँदैन ।

थाहा पाएर भन्यौ भने पनि त्यसको सुनुवाई हुँदैन । यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल गिरीले कर्मचारीको तलब वृद्धि के कसरी गरिन्छ भन्ने अनविज्ञ रहेको बताए । उनले प्रशासनिक पाटो प्रधानाध्यापकको हातमा हुने बताए ।

शिक्षक आवेदन शुल्क पाँच हजार

गिरीको अध्यक्षतामा गत असोजमा बसेको सरस्वती प्राविधिक माध्यमिक विद्यालय तिला गाउँपालिका–३ कुडारी जुम्ला विव्यस बैठकले शिक्षक आवेदन शुल्क पाँच हजार तोक्ने निर्णय गरेको थियो ।

करिब दुई वर्ष देखि मावि तथा आधारभूत तहको रिक्त लेखा व्यवस्थापन सहित ६ शिक्षक पदको १५ दिनको आवेदन अवधि राखेर २४ मंसिरमा विज्ञापन खुलाइयो ।

शिक्षक सेवा आयोगले मावि तहको एक हजार दरखास्त दस्तुर तोक्दा उक्त विद्यालयले गरेको विज्ञापनमा भने पाँच हजार राखिएको छ । यस विषयमा शिक्षा मन्त्रालयका शाखा अधिकृत जीवनबहादुर भण्डारीले स्थानीय सरकारलाई प्रश्न गर्दै सामाजिक सञ्जालबाटै यति धेरै दस्तुर तोक्नु मापदण्ड विपरित भएको बताएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख मक्कर भण्डारीले उक्त विद्यालयले तोकेको शुल्क मापदण्ड विपरित भएको मात्र बताएनन् डेढ देखि दुई वर्ष शिक्षक पद रिक्त हुँदा पनि विद्यालयले अनुमति लिन नआएको बताए । स्थानीय तह अन्तर्गतका अन्य आठ विद्यालयले पनि अनुमति नलिइ शिक्षक नियुक्ति गरेकाले ती शिक्षकको जागीर धरापमा रहेको उनले प्रतिक्रिया दिए ।

आन्तरिक कोष वृद्धि गर्न भन्दै विद्यार्थीसँग शुल्क

सरकारले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षाको घोषणा गरेको छ । तर, कुडारीको विद्यालय व्यवस्थापन समितिले विद्यालयका अध्यक्ष सहित समितिका सदस्य र प्रधानाध्यापकले मनोमानी तरिकाले विद्यार्थीसँग शुल्क असुल गरिरहेका छन् ।

स्थानीय मानबहादुर बुढाका अनुसार उक्त विद्यालयले कक्षा १ देखि ५ सम्म ५० रुपैयाँ र ६ देखि १० सम्मका विद्यार्थीबाट एक सय रुपैयाँ भर्ना शुल्क तोकेको छ ।

साथै, अन्य सिफारिस पत्र बनाउनु परे कक्षा १ देखि ५ सम्मलाई ५० र चारित्रिक प्रमाणपत्र बापत १ देखि १० कक्षा सम्मका विद्यार्थीका लागि पाँच सय,  कक्षा १२ को लागि साता र लाब्धांक पत्रको आठ सय देखि एक हजार पाँच सय रुपैयाँसम्म लिने गरेको छ ।

विद्यालयका प्रधानाध्यापक रामविलास यादवले भने विद्यालयको आन्तरिक आय स्रोत नभएकोले शुल्क लिएको बताएका छन् । यही रकमबाट खानेपानी, बेन्च मर्मत र कम्प्युटर शिक्षकलाई तलब दिएको उनको भनाइ छ ।

कम्प्युटर शिक्षा अनिवार्य भने पनि शिक्षकको व्यवस्था सरकारले नगरेका कारण शुल्क उठाउनु परेको उनको दाबी छ । उनले भने, ‘सरकारले कक्षा ६ देखि कम्प्युटर शिक्षा अनिवार्य गरेको छ । तर, शिक्षक दिएको छैन ।’ विद्यार्थीले भने सरस्वती प्राविधिक विद्यालयमा कम्प्युटर शुल्क भनेर लिए पनि अहिलेसम्म कम्प्युटर देख्न नपाएको दुखेसो गरेका छन् ।

वडाध्यक्षको रातो मसी मोह

विद्यालय व्यवस्थापन समितिको पदेन सदस्य एवं वडा अध्यक्ष सिंह बुढाले बैठक पुस्तिकाको उपस्थितिमा समेत रातो मसीले हस्ताक्षर गरेका छन् । एउटा जनप्रतिनिधि र वडा सरकार प्रमुखले विद्यालय बैठकमा उपस्थिति जनाउन रातो मसीले हस्ताक्षर गरेर पदीय मर्यादाको खिल्ली उडाएको स्रोतको भनाइ छ ।