खोटाङको दिक्तेलबजारको सडक ढलानको काम अलपत्र पारिएको भन्दै स्थानीय व्यवसायीले विरोध जनाएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – १ दिक्तेल स्थित बजारको सडक ढलानको काममा ठेकेदारले ढिलासुस्ती गरेको भन्दै शान्ति सल्लेरी टोलका व्यवसायी विरोधमा उत्रिएका हुन् ।
दिक्तेल बजारको मानव अधिकार चोक देखि त्रिवेणी चोक सम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले सडक ढलानको काम अलपत्र छाड्दा हिँड्डुल गर्न देखि व्यपार – व्यवसायमा असर पुगेको उद्योग वाणिज्य संघ खोटाङअन्तर्गतको लत्ताकपडा व्यवसायी उपसमिति संयोजक सुमन श्रेष्ठले बताए ।
निर्माण कम्पनीले मानव अधिकार चोकबाट बेस क्याम्प सम्मको खण्डमा गत २२ असोज राति ढलान सकेको थियो । तर, बेस क्याम्पबाट त्रिवेणी चोक सम्मको ढलानका लागि बेस क्याम्प क्षेत्रमा सडक खनेर असरल्ल छाड्दा आवत – जावत गर्न समस्या भएको व्यवसायीको भनाइ छ ।
ढलानका लागि बजारको सडक भत्काएर यत्रतत्र ढुंगामाटो थुपारेर छाड्दा व्यापार व्यवसायमा प्रत्यक्ष असर पुगेको भन्दै उद्योग वाणिज्य संघ खोटाङ नेतृत्वको व्यवसायी बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा डेलिगेसन गएका छन् ।
मंगलबार बसेको व्यवसायीको बैठकले बेस क्याम्पदेखि त्रिवेणी चोक सम्मको सडक ढलानको काम अव्यवस्थित र अपारदर्शी भएको तथा भएका काममा ढिलासुस्ती हुँदा व्यापार व्यवसाय, विद्यार्थी र सर्वसाधारणलाई हिँड्डुल गर्नसमेत असहज भएको भन्दै दवावमूलक अभियान सञ्चालनका लागि उद्योग वाणिज्य संघलाई पहलकदमी चाल्न आग्रह गर्ने निर्णय गरेको थियो ।
त्रिवेणी चोक देखि नेपाल टेलीकम सम्मको सडक ढलानका लागि टेन्डर आह्वान गर्नमा समेत ढिलाइ हुँदा दिक्तेलबजार ढलान गर्ने योजना बेलामा पूरा नहुने देखिएको व्यवसायीको बैठकको निष्कर्ष छ ।
सूर्य विकास जेभीले सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको दुई करोड ६८ लाख बजेटमा २० मंसिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्नेगरी १० असार २०७८ मा सम्झौता गरेको थियो ।
कोभिड – १९ को महामारीका कारण देखाएर सडक ढलानको काम आगामी ८ माघसम्म थप गरिएको बताइएको छ । हाल सम्म ३० प्रतिशत मात्र ढलानको काम सकिएको अनुमान छ । ठेक्का लागेको ५८० मिटर मध्ये हालसम्म १३२ मिटर ढलान भएको सघन शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर रामहृदय पटेलले बताए ।