अग्लोकद, खाइलाग्दो जीउडाल, झट्ट देख्दा निडर देखिन भगवती खड्का नेपालको पहिलो महिला रेस्लर हुन । रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं १२ स्थाई घर भएकी उनले नेपालको पहिलो महिला रेसरलको रुपमा देशभर चिनिउला भन्ने सोचेकी पनि थिइनन् ।
उनी सानै देखि रेडियो नेपालमा प्रशारण हुने गीत संगीत धेरै नै सुन्ने र गुनगुनाउने पनि गर्थिन । यसरी गीत सुन्दै र गुनगुनाउदै जाँदा उनलाई पनि गायिका बन्ने रहर जागेर आयो र म पनि एक दिन यसरी नै गीत गाउने छु भन्ने अठोट लिइन । उनको यो गायिका बन्ने सपना पुरा गर्नको लागि त काठमाडौं आउनु नै पर्ने थियो ।
सामान्य परिवारमा जन्मे हुर्केकी भवगती गाँउमा नै विद्यालय स्तरको बढाई सकेर आइ.ए.पढनको लागि काठमाडौं आइन । पद्धमकन्या क्याम्पसमा भर्ना भइन । अध्ययनको साथसाथै उनले आफ्नो गायिका बन्ने सपना पुरा गर्ने बाटो पहिल्याउन लागिन । इच्छा शक्ति भए जस्तासुकै समस्या पार लगाउन सकिन्छ भन्ने उदाहरण हुन् भगवती । तमाम समस्याकैबीच उनले पहिलो गीति एल्बम “यूनिका” बजारमा ल्याउन सफल भइन । यतिले मात्र उनको इच्छा पुरा भएन् । सानैदेखि केही राम्रो काम गरि सबै माँझ परिचित हुने हुटहुटी रहेपनि के गर्दा राम्रो हुन्छ भन्ने स्पष्ट धारणा थिएन् ।
संघर्ष र संभावनाकैबीच जीवन चलिरहेकै थियो । उचित गन्तव्यको खोजि गरिरहेको बेला उनलाई कलेजमा साथीहरुले जीउडाल परेको छ, रेस्लर बन भनेर बारम्बार उक्साउथे रे । रेसलिङबारे त्यति नबुझेकी भगवतीलाई साथिहरुको उक्साहटबारे चासो बढ्दै गयो । संयोगवंस वि.स.२०६९ सालमा नेपालको पहिलो रेस्लर हिमालयन टाइगरसँग एक कार्यक्रममा भेट भयो र आफुले पनि रेसलिङ् सिक्ने र खेल्ने चाहना बताइन । त्यसपछि उनले नेपालको पहिलो रेसलर हिमालयन टाइगरसँग तालिम लिएर रेस्लिङको यात्रा तय गरिन । उनैको जीवन संघर्षका विषयमा अंकुरण खबरका लागि शर्मिला विश्वकर्माले गरेको कुराकानी :
तपाईले कहिलेदेखि रेसलिङ खेल्न थाल्नु भएको हो ?
२०६९ सालदेखि मैले रेसलिङ् सुरु गरेको हो । त्यो समयमा रेसलिङ् खेल्ने महिलाहरु कोही पनि थिएनन् । त्यति बेला पहिलो पटक मैले अमेरिकाको “द ग्रेडचिन्ने” सँग अर्घाखाँचीको सन्धिखर्कमा रेसलिङ्ग प्रतियोगिता खेलेको हो । त्यस समयमा नेपालमा रेसलिङ्बारे त्यति जानकारी थिएन धेरैलाई । त्यस माथि यस्तो शाहसिक खेल महिलाले खेल्ने कुरा निकै चुनौतीपूर्ण थियो हाम्रो समाजमा । हजारौं चुनौतिका पहाड छिचोल्दै त्यस खेल खेलेकाले म नेपालको पहिलो रेस्लर हुन सफल भए । यो नै अहिले सम्मकै मेरो ठुलो उपलब्धी हो ।
रेस्लर हुनु भन्दा पहिला तपाई के बन्छु भन्ने सोच राख्नु भएको थियो ?
मलाई सानैदेखि गायिका बन्ने ठुलो सपना थियो । सानोमा म धेरै गीतहरु सुन्ने गर्थे । कुन्ती मोक्तान, तारादेवीको गीतहरु सुनि रहन्थे । म पनि यसरी रेडियोमा गाउँन पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्थ्यो । भविश्यमा गायिका बन्छु भन्ने सोच थियो । पछि काठमाडौं आइयो । मेरो शरीर बच्चा देखि नै ठुलो थियो । आमा बुवाको पनि आर्मी पुलिसमा जागिर खुवाउने सोच थियो । रेसलर हुनु भन्दा पहिला म भारोत्तलन खेलाडी थिए । त्यसपछि मैले कराते सिके । बक्सिङ्ग, पौडी लगायतका खेलहरु खेल्न थाले । पछि फिल्म फाइट पनि सिके । फिल्म फाइटर भए । मैले अहिले सम्म ६३ वटा नेपाली चलचित्रमा फाइट खेलिसकेकी छु ।
कस्को प्रेरणाले रेसलिङतिर आर्कषित हुनु भयो ?
म देख्दा हक्कि स्वभावकी, जीउडाल पनि अग्लो अनि मोटोघाटो थियो । सबैले केटा जस्तो जिउडाल भन्थे । तिमी त रेसलिङ् खेल्दा हुन्छ भनेर म अध्ययन गर्ने क्याम्पसका साथीहरु उक्साउथे । उनीहरुको सुझाब र केही पृथक काम गरेर देखाउछु भन्ने आफ्नो सोचमा मेल खाए झै लाग्यो ।
रेसलिङको बारेमा चोसो बढाए । नेपालको पहिलो रेस्रल हिमालयन टाइगको बारेमा सोधखोज गरे । थाँहा भयो की पहिलो पटक काठमाडौंको दशरथ रंगशालामा हिमालयन टाइगरको रेसलिङ्ग प्रतियोगिता हुँदै छ । जहाँ इच्छा त्यहाँ उपाय भनेझै उहाँको उक्त रेसिलिङ् प्रतियोगिता हेर्नको लागि मैले रु २००० को टिकट काटेर हेर्न गए । अनि मलाई झन रेसलिङ् खेल्न उत्साह जाग्न थाल्यो । संयोगवंश एक दिन हिमालय टाइगरसँग प्रज्ञा भवनमा भेट भयो । उहाँलाई मेरो रेस्लर बन्ने चाहना सुनाए र उहाँले पनि मलाई सहयोग गर्नु भयो । तालिमहरु दिनु भयो । फिल्म फाइटर योगेन्द्र श्रेष्ठ, साथीहरु तथा घर परिवारको पनि साथ सहयोग र प्रेरणाले गर्दा म यो क्षेत्रमा लागे र सफल पनि भए ।
तपाईले महिला रेस्लर भएकै कारण सामाजिक रुपमा के कस्ता चुनौतीहरुको सामना गर्न पर्यो की परेन् ?
रेस्लर हुँदा मैले धेरै आलोचनाहरु, अपशब्दहरु खेपे, किनकी रेसलिङ सिक्दा केटाहरुले मलाई जहाँ पायो त्यही हिर्काउने, हिड्दा कुल्चिदिने, होच्याउने, पत्रिकामा मेरो बारेमा समाचारहरु आउदा च्यातेर जलाउने गर्थे । त्यो गर्दा मैले विभिन्न चुनौतीहरुको सामना गर्न परेको थियो । एकदम पीडा हुन्थ्यो। त्यो समयमा म दब्बिएर नै बसे । तालिम सिके पछि अभ्यास त गर्नु पर्यो । केटाहरुसँग प्राक्टिस गर्दा केटाहरुले जहाँ पाये त्यही हिर्काउथे । त्यसले गर्दा त्यो पीडाका साथै लाज पनि लाग्थ्यो । केटाहरु त झनै जे पायो त्यही शब्दहरु बोल्ने गर्दा ज्यादै पीडा हुने हुन्थ्यो । धेरै पीडा सहनु पर्यो । र पनि हिम्मत हारिन । चुनौतीसंग खेल्न नडराउने मान्छे नै सफल हुन्छ भन्ने कुरा मनन गरेर अगाडी बढेकै कारण आज यो स्थानमा छु ।
नेपालमा महिलाहरुलाई रेसलिङमा ल्याउनका लागि तपाईको योगदान के रहेको छ ?
अझै पनि नेपालमा महिलाहरुलाई रेसलिङ खेल्ने कुरा सहज छैन् । यद्यपी मेरो पहल यो क्षेत्रमा धेरै महिला जोडिनुपर्छ भन्ने हो । त्यही भएर नै मैले मैले वि.स.२०७१/७२ मा महिला रेसलिङ फाउण्डेशन नामक संस्थाको स्थापना गरे । मैले करिब १०० भन्दा बढि रेसलिङ सो पनि गरि सकेकी छु । महिलाहरु अब चुलो र चौकोमा मात्र सिमित होइन । महिलाहरु हरेक क्षेत्रमा अगाडि बढ्नु पर्दछ । हरेक क्षेत्रमा महिला हुनु पर्दछ पहिला भनेर मैले त गीत नै बनाएकी छु । म आफैले लेखेको पनि हो । हरेक महिलालाई आफ्नो सुरक्षाको लागि पनि यो रेसलिङ्ग सिक्न जरुरी छ । आत्मबल पनि बढ्छ । शारीरिक अभ्यास पनि हुन्छ । अहिले नेपालको दोस्रो रेस्लर अस्मिता जुरेसहित ११९ जना महिलाहरुले रेसलिङ सिकेका छन् ।
तपाईले नेपाल बाहिर पनि गएर रेसलिङ खेल्नु भएको छ ?
मैले वि.स.२०७० सालमा भारतमा गएर खेले । २०७३ सालमा पनि त्रिपल थ्रेट म्याच इण्डियाबाट नै जितेर आए । यी बाहेक अरु देशमा गएर खेल्ने अवसर पाएको छैन । अब अमेरिका गएर खेल खेल्ने तयारी हुदैछ ।
यसमा सहभागी हुन कुनै उमेरको हकबन्धी हुन्छ की हुदैन ?
रेस्लिङमा सहभागी हुनको लागि महिला १६ वर्षको पुगेको र ५५ वर्ष ननाघेको स्वस्थ हुनुपर्छ ।
तपाईको योगदान रेसलिङ बाहेक अरु कुन-कुन क्षेत्रमा रहेको छ ?
मेरो गीत गाउँने रहर पुरा गर्नको लागि यूनिका नामक एल्वम निकाले । त्यो समयमा ६० हजार रुपैया खर्च गरेर ६ वटा भिडियो सहित ४ हजार सि.डी. विदेश लगेर बेचर करिब ७ लाख रुपैयाँ आम्दानी भयो । अहिले पनि मैले २ वटा गिति एल्वम निकाल्दै छु । त्यसको भिडियो बनाउन बाँकी छ । यो महिला शसक्तिकरण सम्बन्धीको गीत रहेको छ । मैले १६ वटा गीत गाएको छु । आफ्नै एल्बम भने २ वटा बजारमा ल्याएकी छु । ११ वटा टेलिचलचित्रमा अभिनय गरिसकेकी छु । मैले अहिले सम्म ६३ वटा नेपाली चलचित्रमा फाइट खेलिसकेकी छु । यो बाहेक सामाजिक काममा पनि लागेकी छु ।
तपाई त एक खेलाडी हो तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्त भन्ने आरोप छ नी, यसले तपाईले नेतृत्व गरेको समर्ग रेसलिङ क्षेत्रमा प्रभाव पार्दैन् ?
मलाई नेताहरुमा केपी ओली ज्यादै मन पर्ने नेता हुन । म उहाँको ज्यादै ठुलो फ्यान हुँ । हिरोमा मन पर्ने राजेश हमाल । म गाँउमा सानो उमेरमा पनि केपी ओलीको भाषण सुन्दा, राजेश हमालको फिल्म हेर्दा उहाँहरुलाई काठमाण्डौं गएर जसरी पनि भेट्छु भन्ने सपना थियो । पछि राजेश हमाललाई भेटे ज्यादै खुशी भए । केपी ओलीलाई भेटे । उहाँले मलाई नेपालको पहिलो महिला रेसलर ल बधाई शुभकामना दिनु भयो । म उहाँको ठुलो फ्यान मात्र हुँ अरु केही पनि होइन । यसले मेरो क्षेत्रमा कुनै असर पार्छ जस्तो लाग्दैन् ।
जीवनमा सबै भन्दा दुख र खुसीको क्षण कस्तो छ ?
जीवन भनेकै दुख र सुखको समिश्रण न हो । धेरै छन् त्यस्ता क्षण । तर सबै भन्दा दुख लागेको क्षण क्यान्सरका कारण आमाको मृत्यु हुँदा । सुखको क्षण भनेको नेपालको पहिलो महिला रेसलरको नामले चिनिदा ।
तपाईको आगामी योजना के छ ?
मैले भर्खरै डिसेम्बर ४ मा काठमाडौंमा अमेरिका, पाकिस्ता, भारतदेखि खेलाडीहरु ल्याएर महिला रेसलिङ् प्रतियोगिता सम्पन्न गरे । अब छिट्टै नै फेरी अमेरिका, जापन, पाकिस्ताबाट खेलाडीहरु ल्याएर नेपालका अर्को प्रतियोगीताको आयोजना गर्दैछु । सरकारी जग्गामा कभड हल बनाउने, टेलिभिजन सो गर्ने, देशका ७७ वटै जिल्लामा रेसलिङ सो गर्ने, देश विदेशमा कार्यक्रम चलाउने मेरो अबको योजना रहेको छ ।