logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थारु वस्तीमा माघीसँगै नयाँ वर्ष स्वागतको चटारो


अंकुरण खबर
1.131K
Shares

मोहन जोशी/ पश्चिम नेपालको तराईका थारु बस्तीमा माघी पर्वको रौनक छ । १ माघलाई यहाँ माघी पर्वका रुपमा मनाइन्छ । माघी आउन एक दिन मात्र बाँकी रहँदा पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बर्दिया लगायतका जिल्लाका थारु बस्तीमा  जाँड, ढिक्री, रोटीलगायत थारु परिकार बनाउन थालिएको छ ।

माघीमा मघौटा, धमार झुम्रा नाचमा पनि रमाइन्छ । घरबाहिर रहेका सदस्यहरु पनि माघी मनाउन आइसकेका छन् । थारु समुदायमा माघीसँगै नयाँ वर्ष पनि सुरु हुने गर्छ । १ माघदेखि थारु संवत २६४४ सुरु हुँदैछ ।

कैलालीको धनगढी उपमहानगरपालिका(३ का श्यामु चौधरीका अनुसार नयाँ वर्षमा ‘जीता’ (बंगुर) को मासु खाने प्रचलन छ ।  ‘नयाँ वर्षलाई  स्वागत गर्न गाउँ वस्ती आसपास नदीमा सरसफाई पनि गरिएको छ,’ चौधरीले भने, ‘ठाउँठाउँमा मेला लाग्छ । तर, यो वर्ष कोभिड संक्रमणका कारण मेलाको रौनक छैन ।

खानपिन संस्कृति

माघीमा बंगुरको , माछा, घोंगी, गङ्गेटालगायत खानाका परिकार खाने गरिन्छ ।  यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले आफ्ना परिवारका लागि नयाँ–नयाँ लत्ताकपडाको पनि उचित जोहो हुने गरेको कैलारी गाउँपालिका-५ का चन्द्र बहादुर चौधरीले बताए ।

थारु अगुवा माघव चौधरीका अनुसार ‘जीता’ को प्रसादसँगै रातभर जाग्रम बस्दै मघौटा नाच प्रदर्शनी गरिन्छ । यो आज राति हुन्छ ।  यो नाच दाङबाट कैलाली बसाइँ सरेका थारु समुदायले भित्र्याएका हुन् । अन्यत्रबाट आएका थारु समुदायले भने धमार, झुमा नाच पनि नाच्ने गर्छन्  ।

भल्मन्सा, गुरुवा चयन गरिँदै

थारु समुदायमा भल्मन्सा (गाउँका मुखिया), गुरुवा (धामीझाक्री) र  चिरागी (कटवाल) पनि चयन गरिन्छ । गाउँमा सडक ममर्तदेखि सार्वजनिक कार्यक्रम, खोप कार्यक्रम लगायतको जानकारी चिरागीमार्फत दिइन्छ । सामाजिक काममा भल्मन्साको रोहबरमा निर्णय हुन्छ । ससाना विवाद पनि यही टिमले समाधान गर्छ ।

माघीको दोस्रो दिन २ माघमा गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यस दिन छलफलका माध्यामबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ ।