logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सहकारीहरु आफ्ना सदस्यहरुप्रति उत्तरदायी बन्नु पर्नेमा मन्त्री श्रेष्ठको जोड


अंकुरण खबर
559
Shares

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यहरुप्रति उत्तरदायी बन्नु पर्नेमा जोड दिएकी छन् ।

काठमाडौंमा आज आयोजित राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा, एकाइ प्रतिनिधिहरुको सभामा मन्त्री श्रेष्ठले समुदाय तर्फ सदैव जिम्मेवार बनेर आम मानिसको भरोसा बढाउनु सहकारीको दायित्व भएको बताएकी हुन् ।

मन्त्री श्रेष्ठले सहकार्यको भावनामा सञ्चालन हुने निकाय सहकारीमा सबैभन्दा बढी ब्याज रहेको भन्ने व्यापक रुपमा जनगुनासो आइरहेकाले यसलाई तत्काल निकास दिन आवश्यक रहेकोमा जोड समेत दिईन्

‘सहकारीको सिद्धान्त, उद्देश्य, र मर्म अनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकी सहकारी प्रति बचतकर्ताको विश्वासमा कमी आएको देखिएको छ , सहकारी क्षेत्रमा देखिएका चुनौति र जोखिमलाई न्युनिकरण गर्दै यस क्षेत्रप्रति आम नागरिकको विश्वास र भरोसा बढाउदै लगानी गर्न आकर्षित गर्नु सबैको दायित्व हो ।’ उनले भनिन् ।

मन्त्री श्रेष्ठले संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरुलाई सदस्य केन्द्रित भइ व्यवसायिक बनाउनु पर्नेमा दुईमत नरहेको पनि बताईन् ।

सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यही अनुसार चल्ने भएकाले सोही अनुसार भिजन पेपर तयार पारीरहेको पनि मन्त्री श्रेष्ठका भनाई छ ।

सहकारीको सिद्धान्त मुल्य मान्यता र प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै संविधानमा समृद्धिको आधारस्तम्भ मानिएको सहकारी अभियानलाई थप प्रभावकारीताका साथ अघि बढाउन राष्ट्रिय सहकारी बैंकले अझै महत्वपूर्ण भूमिका निर्वांह गर्नु पर्नेमा पनि मन्त्री श्रेष्ठले जोड दिएकी छन् ।