logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भगाउन दबाब दिँदा महिलाको हत्या, प्रहरीले सार्वजनिक गर्‍यो प्रेमी सहितका अभियुक्त


अंकुरण खबर
559
Shares

गत २३ पुसमा सर्लाहीको बरहथवामा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

शनिबार पत्रकार सम्मेलन गरेर ईलाका प्रहरी कार्यालय बरहथवाले घटनामा संलग्नहरुलाई सार्वजनिक गरेको हो । गत १७ पुसबाट वेपत्ता भएकी बरहथवा नगरपालिका–१०, निवासी सुरत रामकी श्रीमती ३२ बर्षकी सावित्री कुमारी महराको घरबाट केही टाढा उखुबारीमा शव फेला परेको थियो ।

मृतक महिलाको शव सोही वडास्थित उखुबारीमा शरीरको विभिन्न भाग जलेको अवस्थामा निवस्त्र फेला परेको हो ।

घटनामा सर्लाहीको हरिवन नगरपालिका–१०, ताइवान टोल बस्ने २७ वर्षका सन्तोष साह, सोही स्थान बस्ने २७ बर्षकै मुकेश ब्लोन र २२ बर्षका रोहित हजरा संलग्न रहेको खुलेको छ ।

घटनाको सुक्ष्म अनुसन्धानको क्रममा उनीहरुको घटनामा संलग्नता पाहिएको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी उमा शंकर यादवले जानकारी दिए । अनुसन्धानबाट मृतक महिला र अभियुक्त सन्तोष साहबीच केही समययता सम्बन्ध रहेको खुलेको छ ।

सोही सम्बन्धका कारण मृतक महिलाले अभियुक्त सन्तोषलाई आफूलाई भगाउन बारम्बार दबाब दिँदै आएकी थिइन् । विवाहित सन्तोषले भगाउन नसक्ने भएपछि गाउँकै दुई साथीलाई केही पैसा दिने लोभसमेत देखाएर हत्या गरेका प्रहरीले जनाएको हो ।

प्रहरीले घटनामा प्रयोग भएको एक थान मोटरसाइकल तथा घटनास्थलबाट बरामद भएको सामाग्रीसमेत पत्रकार सम्मेलनको क्रममा सार्वजनिक गरेको छ ।

मृतक महिलाका श्रीमान विगत ८ र१० वर्षदेखि कामको सिलसिलामा कतारमा रहेका थिए । उनी २ वर्ष पहिला मात्र नेपाल आएर गएका थिए । उनीहरुको दुई छोरा र एक छोरी गरी तीन सन्तान छन् । मृतक महिलाको १२, ८ र ५ बर्षको सन्तान रहेको पारिवारिक श्रोतले जनाएको छ ।

यसरी भएको थियो घटना

मृतक महिलाका श्रीमान लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका थिए । उनले कमाएको पैसाले उनीहरुले पहिलाको घरबाट केही पर केही जग्गा किनेर घर बनाएका थिए ।

सोही घरमा मृतक महिला र उन तीन छोराछोरी बस्ने गर्थे । श्रीमान सुरतले विदेशमा कमाएको पैसाले घडेरी किन्ने योजना बनाए । पहिलादेखि नै आफूले कमाएको पैसा श्रीमतीलाई पठाउँदै आएका थिए ।

सुरतकाअनुसार यस पटक पनि विभिन्न समयमा गरेर श्रीमतीलाई दश लाखको हाराहारीमा पैसा पठाइसकेका थिए । जग्गा किन्ने क्रममा जग्गा दलाली गर्ने सन्तोषसँग मृतक महिलाका बुवाको चिनजान भएको थियो ।

सोही चिनजान श्रीमान सुरत हुँदै मृतक महिलामा आएर जोडिएको थियो । जग्गा किन्न भनेर मृतकले सन्तोषलाई दुई लाख बैनासमेत दिएकी थिइन् ।

यसरी उनीहरुको नियमित भेटघाट र फोन सम्पर्क भएको प्रहरीको भनाइ छ । त्य सपछि उनीहरु नियमित भेट गर्ने विभिन्न काम पर्दा सन्तोष महिलाको घरमा पुग्ने गरेका थिए भने मृतक महिलाका श्रीमानले पठाएको पैसा उनीहरुले खर्च गरेको देखिएको छ ।

भेटघाटको समय बित्दै जाँदा मृतक महिलाले सन्तोषलाई आफूसँग बिहे गर्न र भगाउन दबाब दिन थालिन् ।

सोही क्रममा केही समय पहिलामात्र सन्तोषको बुवाको मृत्यु भयो । उनी केही समय बुवाको काजक्रियामा ब्यस्त भए । त्यसबाट फेरि उनी दैनिक काममा फर्किएपछि महिलाले विहेका लागि दबाब दिन थालिन् ।

मृतक महिलाका श्रीमान पनि घर फर्कने दिन नजिकिँदै जाँदा उनलाई तनाव बढ्दै गएको थियो । १७ पुसमा महिलाले फोनमा सन्तोषलाई आफूलाई भगाउन दबाब दिइन् ।

सन्तोषले पनि हुन्छ भनिदिए । त्यसपछि घटनामा संलग्न तिनै जना अभियुक्तहरु एक होटलमा बसेर सँगै मदिरा सेवन गरे । सोही क्रममा सन्तोषले साथीहरुसँग आफ्नो समस्या राख्छन् । साथीहरुले महिलाको हत्या गर्ने उपाय सुझाउँछन् ।

त्यस पछि सन्तोषले केही पैसा दिने लोभ देखाएर दुई साथीसँग सहयोग माग्छन् । साथीहरुले साथ दिने योजना बनेपछि सन्तोषले आफू लिन आउँदै गरेको बताउँदै राति ८ बजेतिर तयार बस्न महिलालाई आग्रह गर्छन् ।

त्यस पछि उनीहरु महिलाको घरतर्फ हानिन्छन् । पूर्वयोजना बमोजिम सन्तोषले दुई जनालाई कटानीस्थित उखु घारीमा लुकेर बस्न अह्राउँछन् । र आफू मृतक महिलालाई लिन जान्छन् ।

महिलालाई लिएर आएका सन्तोषले साथीहरुलाई लुकाएको ठाउँ आए पछि पिसाव फेर्ने बहानामा मोटरसाइकल रोकेर उनी उखु घारीतिर लाग्छन् । त्यस लगतै तिनै जना आएर महिलाको मुख र घाटीमा थिचेर हत्या गर्छन् ।

त्यस पछि उनीहरुले शव उखु बारीमा फालि दिन्छन् । घटनाको प्रमाण मेटाउने उद्देश्यले उनीहरुले महिलाको कपडा खोलेर राखी मोटर साइकलबाट बोटलमा पेट्रोल झिक्छन् ।

सोही पेट्रोल छर्किएर जलाउन खोज्दा उनीहरुँग लाईटर नभएपछि फेरि बरहथवा स्थित बजारमा रहेको एक पसलबाट दुईवटा चुरोट र लाइटर किनेर फेरि महिलाको शव भएको स्थानमा पुग्छन् ।

मोटरसाइकल तयारी अवस्थामा राखेर आगो लगाई उनीहरु त्यहाँबाट फर्कन्छन् । यसरी महिलाको हत्या गरेर जलाएका उनीहरुले महिलासँग रहेको ब्यागसमेत सँगै लगेका हुन्छन् ।

सो ब्यागसमेत केही वर सोल्टी गेट नजिकै चेक गर्दा पैसा फेला नपरेपछि ब्याग त्यही फालेर उनीहरु घर फर्कन्छन् । उक्त शव स्थानीयले देखेपछि २३ पुसमा प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर परीक्षणको लागि जिल्ला अस्पताल पुर्‍याउँछ ।

घटनाको एक हप्ता पछि २४ पुसमा सन्तोष साह र २७ गते अन्य दुई जना मुकेश ब्लोन र रोहित हजरालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो ।

प्रहरीले घटनास्थलबाट महिलाको चप्पल, महिलालले ओढ्ने सललगायत अन्य थुप्रै मेकपका सामान र अनुसन्धानको क्रममा अभियुक्तहरुले प्रयोग गरेको मोबाइल फोन, ना ४५ प ५२०७ नम्बरको रातो कालो २२० सीसीको पल्सर मोटरसाइकल समेत बरामद गरेको छ ।