स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार माघ २ गते देखि सरकारले कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ ।
सरकारले अग्रपङ्क्तिमा काम गर्ने व्यक्ति र ६० वर्ष भन्दा माथिका सबै ज्येष्ठ नागरिकलाई माघ २ गते देखि र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गते देखि ‘बुस्टर’ मात्राको खोप दिन लागेको हो ।
‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ‘बुस्टर’ डोज कोरोना भाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छ महिना पूरा भएका व्यक्ति, अग्रपङ्क्ति र ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइने जानकारी दिए ।
कोरोना भाइरस सङ्क्रमण बढेसँगै सरकारले ‘बुस्टर’ डोज दिन थालेको हो ।