डडेल्धुरामा विभिन्न मुद्दाका फरार अभियुक्त धमाधम पक्राउ परिरहेका छन्।
अदालतको अन्तिम फैसलाले सजाए सुनाएका १२ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको सक्रियताले नौ दिनमा १२ जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीको सक्रियतामा फरार अभियुक्त पक्राउ गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक देवेन्द्र पालले बताए।
‘पक्राउ परेका अभियुक्त अदालतले सजाए सुनाएपछि भागेर तराईका जिल्ला तथा भारतमा लुकेर बसेका थिए। अहिले लामो समय भएपछि घर फर्किएका छन्। र, यही मौका छोपेर हामीले सक्रियता बढाएका छौं,’ डीएसपी पालले भने।
अदालतले कैद सजाय र जरिवाना फैसला सुनाएका मुद्दामा धेरै फरार रहने गर्छन्। पक्राउ पर्नेमा एकजनालाई एक महिना कैद, चारजनालाई ११ महिना नौ दिन कैद सजायका लागि कारागार पठाएको जिल्ला अदालत डडेल्धुराका तहसिलदार पुष्पराज जोशीले बताए। उनले सातजनाबाट एक सयदेखि दुई लाखसम्म जरिवाना असुल उपर गरी छोडिएको बताए।
१२ जनाबाट २६ पुसदेखि ३ माघसम्म १० लाख ८४ हजार जरिवानामार्फत राजश्वसमेत संकलन भएको जिल्ला अदालत डडेल्धुराले जनाएको छ। पक्राउ गरी कैद तथा जरिवाना भएपछि राज्य पक्षबाट अदालतको फैसला कार्यान्वयन भएको मानिन्छ।