सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् ।
सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ ।
सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक बसेर आगामी निर्वाचनको मितिसहितका विषयमा छलफल गर्न बिहीबार बैठक बोलाएको हो ।
यसअघि सोमबार गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले ७ असोज २०७९ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले तत्काल अद्यावधिक निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको थियो । स्थानीय तहमा प्रतिनिधि रिक्त हुन नदिने गरी निर्वाचन गर्ने हो भने माघको पहिलो साताभित्र निर्वाचनको मिति तोक्नुपर्ने निर्वाचन आयोगले भनेको छ ।
यही बेला मंगलबार बसेको गठबन्धनको बैठकले निर्धारित मितिमै निर्वाचन गर्न सहमत भएको हो । सरकारले निर्वाचन गर्न आनाकानी गर्न थालेको आरोपकाबीच गठबन्धन बैठकमा दलहरूबीच सो सहमति भएको हो ।
तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमश ७ असार २०७९, २१ असार २१ र ७ असोजमा सकिँदै छ । यसलाई मध्यनजर गरेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने सुझाव दलहरूलाई दिइसकेका छन् ।
आयोगले १४ र २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन । तर, तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा प्रमुख प्रतिपक्षी दल एमालेले पनि जोड दिइरहेको छ ।